कच्चा बादामः भुवन बडाइकरलाई बंगलादेशबाट अफर

एजेन्सी ।  भुवन बडाइकरलाई उनको भाइरल गीत ‘कच्चा बादाम’ का लागि एक म्युजिक कम्पनीले लाखौं रुपैयाँ दिएको छ । उनलाइ पश्चिम बंगाल प्रहरीले पनि सम्मान गरेको छ । यससँगै दिल्ली, मुम्बई र बंगलादेशबाट पनि भुवनलाई धेरै अफर आइरहेका छन्।

हालैको एक अन्तर्वार्तामा भुवनले आफ्नो दुःख व्यक्त गर्दै म्युजिक स्टुडियोमा गीत छायांकन गरेको र अडियो–भिडियो पनि रेकर्ड गरेको तर पैसा नपाएको बताएका थिए । यो सुनेर उनका फ्यानहरुले उनको अधिकारको माग गर्न थाले । अहिले सोही म्युजिक स्टुडियोले भुवनलाई लाखौं रुपैयाँ दिएको हाे । यो कम्पनीले भुवनसँग ‘कच्चा बादाम’ गीतको रिमिक्स संस्करण रेकर्ड गरेको थियो ।

बिहीबार भुवनलाई ट्वाइलाइट म्युजिकले ३ लाख रुपैयाँ दिएको छ र उनीसँग सम्झौता पनि गरेको छ । पैसा पाएपछि भुवन निकै खुसी छन् ।

हालै उनले एक अन्तर्वार्तामा यसबारे कुरा गर्दै भनेका छन्, '‘अहिले मेरो गीतमा दर्शकहरु नाचिरहेका छन्, म सेलिब्रेटी बनेको छु । अब मैले बदाम बेच्नु पर्दैन । बदाम बेचे भने पनि अब काेही किन्ने छैनन् ।  सबैले मलाई गीत गाउन आग्रह गर्नेछन् । यदि मेरो गीतले मलाई मानिसहरूमाझ पुर्‍याउन सक्छ भने मैले संगीतमा ध्यान दिनुपर्छ। अब म धेरैभन्दा धेरै भाइरल गीतहरू बनाउन चाहन्छु।''

भुवनले थपे,'' अहिले परिस्थिति बद्लिएको छ। अब मैले के पाउन सक्छु भन्ने कुरा महसुस गरेको छु। मानिसहरू अहिलेसम्म मेरा गीत उनीहरूको लोकप्रियताका लागि प्रयोग गर्दै आएका थिए र मैले त्यसबाट केहि पनि पाइरहेकाे थिएन । आशा छ कि अब सबै परिवर्तन हुनेछ। मलाई मुम्बई र दिल्लीबाट अफर आइरहेका छन्।साथै बंगलादेशबाट पनि अफर आइरहेका छन् तर मेरी श्रीमती चाहन्नन् म त्यहाँ जाउँ । मेरो मेहनत र संघर्षको फल पाएकोमा म धेरै खुसी छु।''

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.