के दशैँमा चल्छ फिल्म ?

काठमाडौँ । कोरोना महामारीको प्रभाव सबै क्षेत्रमा परेपनि फिल्म क्षेत्रमा अझ बढि रह्यो । कोरोना प्रारम्भ समयदेखि नै बन्द भएको फिल्म क्षेत्र अहिलेसम्म पनि शुन्य अवस्था मै छ । कोरोना कहरकै कारण फिल्म क्षेत्रमा थप समस्याहरु देखिएको फिल्मकर्मीहरुको भनाई छ । कोरोना कहरकै बीचमा केही समय सहजता महसुश गर्दै फिल्मकर्मीले हल खुलाउन प्रशासनदेखि सरकारसम्मको ध्यानाकर्षण गरेको थियो ।

सरकारको अनुमति विना नै केही समय हल खोल्ने प्रयास नभएको पनि हैन । तर हलमा फिल्म हेर्न दर्शक नै नआएपछि पुनः हल बन्द भएको थियो । दोश्रो चरणको लकडाउन पछि पूर्ण रुपमा फिल्महलहरु बन्द भयो । जुन अहलिेसम्म पनि खुल्न सकेको छैन ।

हल खोल्न सरकारको अनुमति
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुखहरुको निर्णयले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको दुई हप्ता नाघिसकेको छ । प्रशासनले निर्णय गरेपनि फिल्म हलहरु संचालनमा आउन सकेको भने छैन । सरकारसँग थप माग राख्दै हलवाला र निर्माताहरु हल खोल्न तयार नदेखिएका हुन् ।

हल नखुल्दा हल खुलेन भनेर आन्दोलन गर्ने चलचित्र संघले सरकारले अनुमति दिएपनि हल खोल्ने तयारी गरेको देखिदंैन । हल खोल्दा पुनः पहिलेकै अवस्था हुने र दर्शकको संकटका कारण हल बन्द गर्नुपर्ने आशंकामा हलवालाहरु रहेका छन् ।

हल खोल्न आनाकानी किन ?
शुरुमा सरकारसँग हल खोल्न अनुमति माग्ने हलवालाहरु नै यस पटक हल नखोल्ने मनशायमा पुग्नुको कारण भनेको दर्शकको संकट नै हो । वास्तवमा नेपाली फिल्मले मात्रै नेपाली दर्शकलाई केन्द्रित गर्न सक्दैन, यो तितो यथार्थ हो । कुनै विदेशी ठूला ब्यानरका फिल्म नेपालमा पनि रिलिज भए त्यसकै सेरोफेरोमा नेपाली फिल्म चलाउन पाए नेपाली फिल्मले पिकअप लिनेमा हलवाला र निर्माता प्रतिक्षारत छन् ।

करोडौं खर्च गरेर निर्माण गरेको फिल्मले लाखको पनि ग्यारेन्टि गर्न नसक्ने भएपछि निर्माताहरु फिल्म चलाउन पछि हटेका हुन् । यसको साथै हलवाला र निर्माताहरुले थप माग सरकार समक्ष राखेका छन् । हलवाला र निर्माताहरुले सोही मागलाई देखाउँदै हल नखोल्ने चेतावनी दिँदै आएका छन् । वास्तविक समस्या भने फिल्म रिलिजका लागि फिल्म नहुनु र दर्शकको संकट नै हो । तर सरकार समक्ष भने अन्य मागहरु अघि सारेका हुन् ।

फिल्म क्षेत्रलाई पुर्नकर्जा, विद्युत डिमाण्ड शुल्क मिनाह, कर छुट, कोरोना कहरमा पभावित हल र फिल्मलाई आर्थिक अनुदानलगायतका मागहरु फिल्मकर्मीले अघि सारेका छन् । योसँगै हलवालाले देशैभर हल एकसाथ खोल्न पाउनु पर्ने माग समेत राखेका छन् ।

दशैंमा ट्रायल शो हुन सक्ने
हल बन्दकैबीच दशैंमा दर्शक हलसम्म आउने संभावनासहित घटस्थापनाको दिनदेखि हल संचालनमा आउन सक्ने चलचित्र संघका महासचिव तथा निर्माता निर्देशक अशोक शर्माले क्विक नेपाललाई बताए । विशेषतः दशैंमा ट्रायल शो को रुपमा फिल्म हल खुल्न सक्ने संभावना देखिन्छ । तर अहिलेसम्म कुनै पनि निर्माताले दशैंमा फिल्म रिलिज गर्ने घोषणा गर्न सकेका छैनन् ।

दशैं आउन तीन हप्ता मात्रै बाँकी छ । अहिलेसम्म प्रचार प्रसार समेत शुरु नभएको फिल्म रिलिज हुन्छ भन्ने संभावना न्युन नै छ । कुन फिल्म प्रदर्शन गर्ने र कसरि ब्यबस्थापन गर्ने भन्ने बिषयमा निर्माता, वितरक र हलवालाबीच छलफल र बहस भइरहेको महासचिव शर्माले बताए ।

विदेशी फिल्मको आशमा निर्माता
अहिलेसम्म हलिउडको बहुप्रतीक्षित फिल्म ‘फास्ट एन्ड फ्युरियस’को नवौं श्रृंखलामात्र रिलिजको लागि निश्चित भएको छ । २५ जुनमा रिलिज हुने भिन डिजेल स्टारर यो फिल्मले मल्टिप्लेक्समा दर्शक तान्न सक्ने अपेक्षा गरिएको छ । नेपाली दर्शकहरुको लागि पनि यो फिल्म प्रतिक्षित छ । विदेशी फिल्मकै साथमा नेपाली फिल्मलाई रिलिज अघि सारेर जान पाए दर्शकलाई हलसम्म आकर्षण गर्न सकिन्छ भन्नेमा नेपाली फिल्मका निर्माताहरु रहेका छन् ।

‘म यस्तो गीत गाउँछु २ ,चपली हाइट ३, प्रेम गीत ३, हिजो आजका कुरालगायत झण्डै दुई दर्जनबढि तयार फिल्मका निर्माताहरु पर्ख र हेरको अवस्थामै छन् । विषम परिस्थितिमा सबै फिल्मकर्मीहरु एक जुट भएर फिल्म क्षेत्र चलायमान बनाउन लाग्नु पर्नेमा सबै आ–आफ्नो दुनो सोजाउने तिर अग्रसर छन्’, – वितरक करण श्रेष्ठले भने । बलियो विदेशी फिल्मकै आशमा रहेका निर्माताहरु विदेशी फिल्म नेपालमा रिलिज नभईकन फिल्म रिलिज नगर्ने मुडमा छन् ।

के गर्दैछ विकास बोर्ड ?
अहिलेको सम्पूर्ण परिस्थितिलाई मध्ये नजर गर्दै फिल्म क्षेत्रको मुख्य निकाय चलचित्र विकास बोर्डले हल खुलाउने बिषयमा पहल गरिरहेको अध्यक्ष दयाराम दाहालले क्विक नेपालसँग भने । यसको लागि बोर्डले देशभरका जिल्ला प्रशासन कार्यालयहरुसँग समन्वय गरिरहेको बताइएको छ ।
प्रदर्शनमा आउने चलचित्रलाई भिपिसी चार्ज, इन्कोडिङ्ग चार्ज र प्रचार प्रसारको लागि सहुलियत बोर्डले दिने विषयमा यस अघि नै निर्णय भएको छ, अध्यक्ष दाहालले भने ।

२०७६ साल चैत्रदेखि २०७७ साल असारसम्म प्रदर्शन तोकिएर रोकिएका चलचित्रहरुलाई बोर्डबाट गर्न सकिने थप सहयोगको लागि पनि छलफल भइरहेको बोर्डले जनाएको छ । अबको तिन महिनासम्म चलचित्र प्रदर्शनको क्यालेन्डर बनाउन र रिलिज नजुधाउन निर्माता संघ, चलचित्र संघ र वितरकहरुलाई बोर्डले अनुरोध गरेको छ । यो विषम परिस्थितिमा फिल्मकर्मीसँग सहयोग र सहकार्य गर्न बोर्ड तयार रहेको बताइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.