प्रचण्ड माओवाद कि खाओवाद ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालको राजनीतिक चरित्रको विषयलाई लिएर आम जनतादेखि मिडिया र राजनीतिक दलको चर्को आलोचना शुरु भएको छ । विशेषगरि प्रचण्डले एमसीसी बारे खेलेको दोहोरो भुमिकालाई लिएर उनको चर्को आलोचना भएको हो । हुन त राजनीतिक एजेण्डाको समाप्तीसँगै यथास्थितीको राजनीति र सत्ता केन्द्रित शक्ति सञ्चय गर्न अघि सरेको माओवादी पार्टीको औचित्य माथी नै प्रश्न उठ्दै गएको छ ।

सरकारमा सहभागी भएर सरकारको विरोध पनि गर्ने र भित्र–भित्र सहमतिमा एमसीसी पनि टेबुल गर्ने प्रचण्डको नियतमाथी आम जनताले मात्रै हैनन् राजनीतिक दलका नेताहरुले समेत उनलई माओवादी कि खाओवादी भनेर कटाक्ष गरेका छन् । 

एमसीसीको बारेमा चुईक्क नबोल्ने प्रचण्ड एकाएक विरोधीको रुपमा कसरी प्रस्तुत भए ? माओवादी पार्टीका प्रचण्ड खाओवादी शैलीमा थरि–थरि चरित्रमा किन प्रस्तुत भइरहेका छन्, अहिले सबैलाई लागेको विषय यहि नै हो ।

तत्कालिन नेकपा पार्टी हुँदा अध्यक्ष केपी ओलीसँग संघर्ष गरेर ठूलो कम्युनिष्ट पार्टीको अध्यक्ष हुने सपना पुरा नहुने भएपछि प्रचण्ड एकाएक चीनको दबाब र न्यायालयको सेटिङमा पुरानै पार्टीमा फर्कन सफल भएका थिए ।

केपी ओलीकोविरुद्धमा सडकमा निस्केका प्रचण्डले प्रतिगमन मुर्दावादको नारा लगाउन आफ्ना नेता कार्यकतालाई प्रयोग गरे र उनी आफै मुर्दावाद भन्दै सरिक भए । आक्रोसमा आएका कार्यकर्ताले बेला बेलामा एमसीसी मुर्दावाद भन्दा प्रचण्ड झँस्किने गर्थे र त्यो नारा नलगाउन प्रचण्डले निर्देशन दिन्थे । 

त्यतिबेलादेखि नै प्रचण्ड एमसीसीको पक्षमा रहेको र अमेरिकाप्रति उदारवाद रहेको प्रमाणित भएको थियो । त्यस लगतै कांग्रेस सभापति शेरबहादुर देउवासहितको गठबन्धन बनाउन दक्षिणीपन्थी मुलुकले साथ दिने भएपछि गठबन्धन बनाएर अघि बढ्ने शर्तमा प्रचण्डले प्रधानमन्त्री शेरशहादुर देउवासँग गोप्य सम्झौता गरेका थिए ।

सम्झौतामा गठबन्धनलाई आगामी निर्वाचनसम्म लाने र ६ महिना भित्र एमसीसी जसरी पनि पास गर्ने भन्दै अमेरिकालाई पत्र लेखेका थिए । पत्रमा गठबन्धनको तर्फबाट प्रचण्ड र प्रधानमन्त्री देउवाले हस्ताक्षर गरेका थिए । 

अमेरिकालाई पठाएको पत्रमा प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर पनि राख्नुपर्ने बताएपछि प्रचण्डले उनीहरुको खास हैसियत छैन हामीले जे निर्णय गछौं, त्यसमा उनीहरु सहमत हुन्छन् भन्दै देउवालाई मनाएका थिए ।

यता नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाले गलत नियतले संसद चलाएको र पार्टीले विधानत कार्वाही गरेको गैर सांसदहरुलाई मान्यता दिएर पार्टी खोल्न सहयोग गरेको भन्दै सभामुखको राजिनामा माग गर्दै संसदअवरुद्ध गर्दै आएको छ ।

निरन्तर संसदअवरुद्धपछि एमालेले निश्चित समयमै स्थानीय तहको निर्वाचनको मिति तोक्न देशभरि आन्दोलन शुरु गर्यो । यसले प्रधानमन्त्री देउवालाई दबाब दियो । उनले पटक–पटक स्थानीय तहको निर्वाचनको मिति तोक्न गठबन्धनको बैठक बोलाई रहे । तर सहमति भने कायम हुन सकेको थिएन । त्यसको प्रमूख कारण थियो प्रचण्ड ।

प्रचण्ड निर्वाचन पनि गठबन्धन मिलेरै जाने शर्तमा मात्रै मिति तोक्न सहमत थिए । तर प्रधानमन्त्री देउवाको निर्णय नेपाली कांग्रेस भित्र मान्य थिएन । कांग्रेस भित्र बहुमत नेताहरु कांग्रेस निर्वाचनमा एक्लै जानुपर्ने विचारमा अडिग थिए । त्यसपछि प्रधानमन्त्री देउवाले सरकार संचालनमा गठबन्धन कायम नै रहने तर निर्वाचनको लागि अहिले नै निर्णय गर्न नसक्ने बताएपछि प्रचण्ड प्रधानमन्त्री देउवासँग रुष्ट भए । 

प्रधानमन्त्री देउवाले एमालेको बदाब पछि बैशाख ३० गते निर्वाचन गर्ने गरि स्थाीनय तहको निर्वाचन घोषणा गरे । त्यसपछि गठबन्धनको नाममा एकलौटी गरे भन्दै प्रचण्ड प्रधानमन्त्री देउवासँग झन् बिच्किए ।

त्यसपछि प्रचण्डको अर्को दोहोरो खेल शुरु भयो । यता अमेरिकाले प्रधानमन्त्री देउवालाई एमसीसी पास गर्न लगातार ताकेता गरिरह्यो । पधानमन्त्री देउवाले एमसीसी संसदमा टेबुल गर्न गठबन्धन दलका नेताहरुसँग छलफल गर्दा प्रचण्डले दोहोरो चरित्र प्रस्तुत गरे । स्थानीय तहको निर्वाचन गठबन्धन मिलेर जाने र त्यसपछि मात्रै एमसीसी संसदमा लाने भन्दै प्रचण्ड प्रस्तुत भए । 

प्रचण्डको दोहोरो रुप देखेपछि प्रधानमन्त्री देउवा एमालेको शरणमा पुगे । एमसीसी अनुमोदन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग देउवाले अनुरोध गरे । अध्यक्ष ओलीले सत्तारुढ दल र सरकारले स्पष्ट धारणा बनाएपछि मात्रै एमालेले एमसीसी बारे धारणा बनाउने भन्दै प्रधानमन्त्री देउवालाई फर्काए ।

कांग्रेस भित्र एमसीसी जसरी पनि टेबुल गर्ने र त्यसमा सभामुखको अवरोध रहे महाअभियोग लगाउनेसम्मको विकल्पहरु तयार हुन थाल्यो । यदि त्यसो भएमा नेकपा एमालेसँग सहकार्य गर्न कांग्रेस तयार रहेको विकल्प समेत कांग्रेस भित्र प्रस्तुत भएपछि प्रचण्ड पुन तर्सिए । त्यसपछि उनले आफ्नो अर्को रुप प्रस्तुत गरे । एमसीसीको विपक्षमा रहने भए सरकार छोड्न कांग्रेसले माओवादीलाई चेतावनी दियो ।

प्रचण्डसँग रिसाएका प्रधानमन्त्री देउवाले दुबैको सहमतिमा अमेरिकालाई एमसीसी पास गर्ने भन्दै पत्र नै पठाएको अभिव्यक्ति दिए । प्रचण्डले त्यसको खण्डन गर्न लागे । कुनै पनि पत्र नपठाएको दावी गर्दै आफ्नो र पार्टीको बचाऊमा प्रचण्ड लागे । तर प्रधानमन्त्री देउवाले पत्र नै सार्वजनिक गरिदिएपछि प्रचण्डको असली रुप छर्लङ्ग भयो ।

पछि माओवादीको सचिवालय बैठकले एमसीसी कुनै हालतमा टेबुल नगराउने र सरकारले जबर्जस्त गरे सरकार छोड्ने निर्णय समेत गर्यो । यता नेकपा एकीकृत समाजवादीले पनि एमसीसी जस्ताको तस्तै टेबुल हुन नदिने निर्णय गर्यो ।

पार्टी भित्र एमसीसीको विपक्षमा उभिने निर्णय गरेका प्रचण्ड भित्र–भित्र भने प्रधानमन्त्री देउवासँग एमसीसी टेबुल गर्न सहमत भए । गठबन्धनकै सहमतिमा आइतबार एमसीसी संसदमा टेबुल भयो । 

प्रचण्डले कस्तो भुमिका समेत प्रस्तुत गरे भने अर्थमन्त्री जनार्दन शर्मालाई बिरामी भएको बहानामा संसद जान रोके । यता कार्यकतालाई एमसीसीको विरुद्धमा चर्को आन्दोलन गर्न सडकमा पठाए । संसद भित्र पनि कृष्ण बहादुर महरा, देव गुरुङलगायतका नेतालाई विरोध गर्न लगाए । आफु भने मौन बसिरहे । एमसीसी सबै दलको सहमति विना टेबुल गर्नुपरे आफु झुण्डिएर मर्ने भन्दै अभिव्यक्ति दिएका सभामुख सापकोटाले नै संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमसीसी सम्झौता प्रस्ताव अनुमोदनका लागि पेश गर्न लगाए ।

प्रधानमन्त्री देउवाले गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्ने संभावना बढेपछि प्रचण्डको एकाएक नयाँ रुपहरु बाहिर आइरह्यो । यसले प्रचण्डको शैली र अवतार छर्लङ्ग बनाएको छ । सरकार छोड्ने चेतावनी पनि दिने तर एमसीसी टेबुल भएपछि त्यसको विपक्षमा रहने भन्दै पुनः सरकार छोड्नुपर्ने कारण छैन भन्दै अभिव्यक्ति पनि दिने यस्तै प्रवृत्तीले प्रचण्डसहित नेकपा माओवादी केन्द्रको औचित्य नेपाली राजनीतिमा समाप्तीको बाटोमा अघि बढेको छ ।

सरकारमा टाँसिरहने र सरकारलाई नै विरोध गरिरहने प्रचण्ड चीनबाट चुनाव खर्च पाउने आश्वासन पाएपछि जनमतको लागि भन्दै एमसीसीको नचाहेर पनि विरोध गरेको जस्तै नाटक गनुपर्ने बाध्यतामा पुगेका छन् । कार्यकतालाई प्रहरीलाई दुङ्गा हान्न पठाउने, आफु मौन रहने र नेतालाई विरोध गरेको जस्तै गर है पनि भन्ने प्रचण्ड माओवादको नाममा असली खाओवाद हो की भन्ने सबैलाई लागेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.