काठमाडौं । बरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको बुधवार विहान मस्तिष्कघात भई निधन भएको छ । एक कार्यक्रममा सहभागी भई घर फर्कने क्रममा गाडीभित्रै उनी मस्तिष्कघात भई लडेका थिए । त्यस लगतै उनको निधन भएको पारिवारीक स्रोतले जनाएको छ । बुधवार टिचिङ अस्पतालमा उनको पोष्टमार्टमा गरिएको हो ।
लोक गायन क्षेत्रमा उनको निकै ठूलो योगदान रहेको छ । दर्जन बढि हिट लोक भाकाहरुमा आफ्नै शब्द र संगीतमा उनले स्वर दिएका छन् । यस्तै सानो र ठूलो पर्दागरि सयौं फिल्ममा उनले अभिनय पनि गरेका छन् ।
पछिल्लो समय लोक गीतका कार्यक्रमहरुमा व्यस्त रहेका लामा फिल्ममा पनि व्यस्त हुने क्रममा थिए । तर अकस्मात उनी सदाका लागि नेपाली आकाशबाट अस्ताए ।
को हुन् जयनन्द
वि.स. २०१३ मा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे गाउँमा जन्मेका जयनन्द लामा बाल्यकालदेखि नै गीत संगीतमा रुची राख्थे । राई, गुरुङ, शेर्पा,मगर सबैको गितको बेग्ला बेग्लै स्वाद थाहा पाएका लामा सानैदेखि गीत गाउन र क्यारिकेचर गर्न औधि मन पराउँथे ।
उनी लोकसंगीतमा आउनुको भने एक रमाइलो संयोग छ । २०२६ सालतिर राजा महेन्द्रको जन्मोत्सवको अवसरमा देशभरबाट प्रचलित लोकभाकालाई छनोट गरी काठमाडौंमा वृहत कार्यक्रम हुन्थ्यो । यो खबर उनको विद्यालयमा पनि आयो । १२ वर्षका लामा काठमाडौंबाट लोकभाका खोज्ने मानिस आएको कुरा थाहा पाएपछि स्कुल छुट्टि हुना साथ बसपार्क पुगेका थिए ।
ती मानिसको टोली गाउँजान बसपार्कमा भरिया कुरिरहेका थिए । लामा उनीहरुको भारी बाकेर पछि–पछि गाउँ तर्फ लम्किए । त्याहा लोकभाका छान्न एक कार्यक्रम आयोजना गरीएको थियो । उक्त कार्यक्रममा लामाले पनि गित गाएका थिए ।
केहि समयपछि टोली काठमाडौं फर्कियो । लामालाई काठमाडौं आउन उक्त टोलीले चिठी पठायो । चिठी आएपछि उनी काठमाडौं गए र त्यँहा गित गाए । त्यँहा उनले सान्त्वना पुरस्कार जिते र रेडियो नेपालमा गित रेर्कड गर्ने अवसर पाए ।
यसरी उनको लोक संगीतमा पाईला अघि बढेको थियो । उनले त्यो बेला रेडियो नेपालमा ४ वटा गित रेकर्ड गराएका थिए । ‘रोको मनलाई बुझाउने को छ र ?,पानी परो बलेसी हेरन बैनी झलल’, ‘पहिलो चरण कुन गीत गाउने’ र ‘सरस्वती मुखैमा नआउने।’ यी बोलका गीत उनले पहिलो पटक रेडियो नेपालमा रेकर्ड गराएका थिए ।
त्यसपछि राजा महेन्द्र उनका छोरा बीरेन्द्रले उनलाई दरबारमा बसेर पढ्ने अवसर प्रदान गरे । दरबारमै बसेर उनले फाइन आर्टमा ब्याचलर्ससम्म अध्ययन गरे । उनी प्रज्ञा प्रतिष्ठानमा जागिरे थिए । प्रतिष्ठानले उनलाइ इलाहाबाद संगीत विद्यालयमा मास्टर डिग्री पढ्ने अवसर प्रदान गर्यो ।
मास्टर डिग्री सकेर उनी नेपाल फर्किए र गित संगितमा सक्रिय भईरहे । चुइँ चुइँ चुइँकने जुत्ता, हेर्दैमा राम्रो, कलकते काइयो, मुलाको चाना, नाच्यो झिल्के नाच्यो, सुर्तीको तुत्तो, उहीलेको नब्बे साल, भोली यतिखेर, डम्फुको ताललगायतका थुप्रै हिट गितले उनलाई सम्झाईरहनेछन ।
लोकगीतमा विकृती मौलाएको भन्दै उनले लोक गीत संरक्षणको लागि पहल पनि थाल्दै आएका थिए । लोकगीतले लोकका कथा बोल्नुपर्छ । रीतिरिवाज, धर्मकर्म, चाडपर्व र संस्कृतिलाई बुझाउने हुनुपर्छ भन्ने उनी मान्दथे। उनी नेपालमा साङ्गीत सिद्धान्त लेख्ने पहिला सिद्धान्तकार पनि हुन् । उनले केही समय संगीत विषयमा अध्यापन पनि गराउँने गर्थे । पछिल्लो समय उनी एपी वान टेलिभिजनबाट प्रसारण भएको रियालिटी सो लोक स्टारमा निर्णायक मण्डल पनि रहेका थिए ।
चलचित्र र सिरियलमा समेत उत्तिकै लोकप्रिय थिए लामा । उनी चलचित्रमा कमेडियन चरित्र निभाउन खप्पिस थिए । लामाले मनको बाँध, छक्का पन्जालगायतका सयौं चलचित्रमा अभिनय गरिसकेका छन् । उनले फिल्म माया गर्छु म समेत निर्देशन गरेका थिए । पछिल्लो समय लामा हास्य टेलि श्रिङ्खला हल्का रमाइलोमा अभिनय गर्दै आएका थिए ।
'कलकत्ते काईयो केश मेरो बांगो टेबुलमा ऐना छ, पिरती मैले नलाको होईन तक्दिरमा रहिनछ' भन्दै अजम्बरी गीत गाएका लामा सबैलाई गायन र अभिनयमार्फत पिरती बसाउँदै सदाका लागि बुधवार अस्ताए । लामाको श्रीमति र दुई छोरा छन् । अलविदा– जयनन्द लामा ।