सभामुख फाल्ने कांग्रेस र एमालेको सहमति, माओवादीलाई सरकारबाट निकाल्ने तयारी

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि नेकपा एमालेले लगातार आफ्नो माग राख्दै आएको छ । १४ जना गैर सांसदलाई बर्खास्त गनुपर्ने या त सभामुख अग्नीप्रसाद सापकोटाले राजिनामा दिनुपर्ने माग गरेको एमालेले चाहेजस्तै अब कांग्रेसले साथ दिने भएको छ ।

एमसीसीको विषयमा सत्तारुढ दलहरुले नै सरकारलाई सहयोग नगरेपछि कांग्रेसले एमालेको साथ खोजेको हो । एमालेको चाहना अनुसार सभामुख हटाउन सहयोग गर्ने र एमाले संसदीय प्रक्रियामा आउनुपर्ने माग कांग्रेसको छ । 

कांग्रेसले एमसीसी पास गर्न एमालेको साथ खोजेपछि एमालेले यस विषयमा केही धारणा राखेको छैन । एमालेले लगातार सभामुखको राजिनामालाई मुख्य विषय बनाएको छ । कांग्रेसका नेताहरुले भने एमालेसँग सभामुख हटाउने र एमसीसी पास गर्ने सहमति भइसकेको दावी गरेका छन् । 

यता एमाले अध्यक्ष केपी शर्मा ओली भने कांग्रेससँगको बैठक छोडेर कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा पुगेका छन् । कांग्रेसका नेताहरुले एमालेसँगको सहमति दावी गर्दै कांग्रेस नेतृत्वको सरकारमा एमालेको ईन्ट्रि हुने कुरालाई जोड दिईरहेका छन् । 

एमालेका महासचिव शंकर पोखेरेलले भने संसदीय प्रक्रियामा जाने अवस्था सिर्जना अहिलेसम्म सरकारले गर्न नसकेको बताएका छन् । यता उपमहासचिव प्रदिप ज्ञवालीले पनि परमादेशको सरकारसँग एमालेको सहकार्य हुने कुनै उद्देश्य नरहेको बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.