के पाक्दैछ बालकोटमा ? जहाँ प्रधानमन्त्री र संचारमन्त्रीको फेरि सवारी भयो

काठमाडौं । केही दिनयता विपक्षी दल नेकपा एमालेको आसपासमा नेपाली राजनीति घुमिरहेको छ । एमसीसी र संसदको विषयलाई लिएर लगातार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेताहरुको भेटघाटको क्रम निरन्तर चलिरहेको छ । 

नेपाली कांग्रेसका तर्फबाट लगातार नेताहरुले अध्यक्ष ओलीसँग भेटवार्ता गरिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ओलीसँग पटक पटक भेटवार्ता गरेका छन् । यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत ओलीलाई भेटेर एमसीसीको विपक्षमा उभिन अनुरोध गर्दै एमालेलाई सघाउन तयार रहेको बताएका थिए ।

पोखरामा सम्पन्न भएको पार्टी प्रवेश तथा कार्यकर्ता भेलालाई सम्बोधन गरेर राजधानी फर्केका ओलीलाई भेट्न संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की बालकोट पुगिसकेका छन् । प्रधानमन्त्री देउवा पनि बालकोट पुगेर छलफल जारी राखेका छन् ।

यस अघि पनि प्रधानमन्त्री देउवा र संचारमन्त्री कार्कीले बालकोट पुगेर ओलीसँग भेट गरेका थिए । बालकोट जारी देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापापनिसहभागी छन् । त्यस्तै एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि वार्तामा सहभागी छन् ।

एमसीसी पास गर्न र संसदलाई गतिदिन एमालेको मागलाई सम्बोधन गरेर निर्णायक छलफल गर्न प्रधानमन्त्री र संचारमन्त्री ओली निवास बालकोट पुग्न लागेका हुन् । संसदको अवरोध बटाउन एमालेले कि सभामुखको राजिनामा वा बहिगर्मन कि १४ जना गैरसांसद रहेको सूचना टाँस गर्न माग गरेका छन् । 

एमालेको मागको नजिक नजिक पुगेको कांग्रेसले एमालेसँग एमसीसी पास र सत्ता साझेदारकै विकल्प खोजेको बालुवाटार स्रोतले बतायो । एमालेले भने परमादेश सरकारसँग सहकार्य संभव नभएको बताउँदै आएको छ ।

कांग्रेसले त्यसको विकल्पमा पाँच प्रदेशमा एमाले नेतृत्वको सरकार दिने र एमसीसी पास पछि सभामुख हटाउने आधार समेत प्रस्तुत गरेको स्रोतको दाबी छ । त्यहि विषयमा बालकोटमा छलफल हुन लागेको बताइएको छ । 

यदि कांग्रेसले सोही अनुसारको विकल्प दिए एमालेले संसद बहिस्कार गर्ने र सोही बैठकबाट उपस्थितको बहुमतले एमसीसी पास गर्ने अवस्था सिर्जना हुने छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.