काठमाडौं । नेपाली कांग्रेस अहिले १४ महाधिवेशनको संघारमा छ । अहिले कांग्रेस गाउँ–नगरको महाधिवेशन सकेर जिल्लाको महाधिवेशन गर्ने तयारीमा अघि बढेको छ । नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको सभापति कार्यकालको अन्ततिर विभाग गठन गर्दा तत्कालीन वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको विधि र विधानको उल्लंघन गरेको भन्दै आपत्ती जनाएका थिए ।
महाधिवेशनलाई प्रभावित गर्न विधानविपरीत विभाग गठन गरियो भन्ने आरोप खेपेका कोइरालाले अन्ततः विभाग गठनको निर्णय समेत खारेज गरेका थिए । कोइरालाको निधनपछि २०७२ फागुनमा भएको १३ औं महाधिवेशनमा देउवा सभापति निर्वाचित भए । देउवाले आफ्नो कार्यकालभरि विभाग गठन गर्न सकेनन् ।
तर उनले महाधिवेशनको प्रक्रिया अघि बढेपछि विभाग गठन गर्दै आफु निकटलाई मनोनीत गरे । त्यसैका कारण देउवाले पार्टीभित्र चर्को विरोधको सामना गरिरहेका छन् । देउवाले गाली सहेर भएपनि आफुले गरेको निर्णय कुनै पनि हालतमा उल्ट्याएनन् । विधानले पार्टीलाई मार्गनिर्देश गरेको हुन्छ र त्यहि अनुसार सवैले विधान मान्नुपर्ने हुन्छ ।
तर नेताहरु नेतृत्वमा पुगेपछि विधानलाई लात हान्ने परम्परा विस्तार हुनुले कांग्रेसभित्रको लोकतान्त्रीक व्यवस्था कमजोर बन्दै गएको छ । जननायक बिपी कोइरालाले प्रतिपादन गरेको कांग्रेस भित्रको लोकतन्त्रीक प्रणालीलाई कांगे्रस भित्रकै नेताहरुले मान्न छाडेका छन् । बोली एउटा र व्यहार अर्को गर्नाले कांग्रेसको नेतृत्वमा बारम्बार प्रश्न उठ्दै आएको हो ।
नेतृत्वमा पुगेपछि विधानविपरीत क्रियाकलाप गर्ने, लोकतान्त्रिक पद्धतिभन्दा निरंकुश तवरले पार्टी–सत्ता चलाउने, विधि र प्रक्रिया मिचेर मनोमानी ढंगबाट काम गर्नेलगायतका आरोप नेतृत्वमाथि लाग्ने गर्छ । हिजो नेतृत्वबाहिर रहँदा औंला उठाउने सभापति देउवा अहिले आफैं अनेकौ आरोपको सामना गर्न बाध्य भएका छन् ।
अहिले पनि क्रियाशील सदस्यता वितरणमा एकलौटी भ्रातृ संस्थामाथि हस्तक्षेप, विभाग र अन्य निकायमा विधान विपरीत कामहरु भएका छन् । त्यस्तो बेतिथिको अन्त्य गर्न अबको कांग्रेस पार्टीमा सहि नेतृत्को विकास र यूवा बर्गको स्वामित्वमा हुन जरुरी छ । नेपाली काग्रेसमा बिपीले प्रतिपादन गरेको समाजबाद र आन्तरिक लोकतन्त्रको बहस हुनुपर्ने हो ।
त्यो अझै हुन सकेकौ छैन । अव कांगे्रसभित्र यी दुई कुरालाई किनारा लगाउन सक्ने नेतृत्व आउनुपर्छ । कांगे्रसको १४ औँ महाधिवेशनमा पुरानै अनुहारका रामचन्द्र पौडेलेदेखि एक दजर्न भन्दा बढि नेताहरुले सभापतिका लागि उम्मेद्वारी दर्ता गर्ने बताएका छन् । त्यस्तै यूवा वर्गमा महामन्त्रीका लागि गगन थापा र विश्वप्रकाश शर्माको समेत उम्मेदवारी परिसकेको छ । तर कांग्रेस नयाँ पुस्ताका लगि त्यति सहज छैन ।
राजनीतिमा कुनै पनि व्यक्तिले नेतृत्व सजिलै तवरबाट हस्तान्तरण गरेको उदाहरण छैन । तसर्थ कांग्रेसभित्र नेतृत्व खोसेर लिनु पर्छ भन्ने केहिको मान्यता रहेको छ । नेतृत्व तह आफ्ना प्रत्येक कमजोरी र कार्यकर्तालाई ‘अन्तरघातीको जामा’ लगाइदिएर पन्सिन्छन् । किनकि नेतृत्व ग्राउण्डको रियालिटीबाट कोसौं टाढा छन् । नेपालमा कम्युनिष्ट हाबी हुनुको कारण कांग्रेस आलस्यमा रमाउने र ऊर्जाविहीन हुनु हो ।
काग्रेसभित्रका यूवा नेतृत्वहरु एकजुट हुन आवस्यक छ । कांग्रेसमा नेतृत्व साइलेन्ट क्रान्तिको वेगबाट आउँछ कि परम्परावादी ढंगबाट त्यो समयले बताउँला । जुन ढंगबाट आए पनि नयाँ नेतृत्व आओस् भन्ने कामना मात्र गर्न सकिन्छ । महाधिवेशनमार्फत यसको फैसला झण्डै कांग्रेसका पाँचहजार प्रतिनिधिहरूबाट हुनेछ ।