शाहरुखलाई गरियो बहिष्कार

एजेन्सी ।  बलिउडका बादशाह मानिने अभिनेता शाहरुख खान यस पटक भने ठूलो विवादमा फसेका छन्। ट्विटरमा उनका विरुद्ध कडा आलोचना भइरहेका छन् । उनलाई बहिष्कार गर्ने विषयहरु ट्रेन्डिङमा समेत आएका छन् ।

कोइमोइका अनुसार शाहरुख पाकिस्तानसँगको सम्बन्धका कारण आलोचित बनेका छन् । शाहरुख र पाकिस्तानबीच राम्रो सम्बन्ध रहेको र उनले बारम्बार भारतीयको धार्मिक भावनामाथि चोट पुर्याएको ट्विटर प्रयोगकर्ताको आरोप रहेको छ ।

उनीहरुले ट्विटरमा शाहरुखका विगतका तस्बिर, समाचार र घटना पोस्ट गरेका छन् जसमा अभिनेता खानले पाकिस्तानी क्रिकेट खेलाडीलाई समर्थन गरेको र भारतबारे असहिष्णुता कुरा गरेको देखाइन्छ ।

उनीविरुद्ध गरिएका ट्विटमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान र शाहरुख सँगै भएको फोटो, उनले भारतमा मुस्लिमलाई गरिने व्यवहारबारे बोलेका कुरा र केही मिमहरु पनि छन् ।

यी पोष्टमा हरेकले शाहरुखलाई बहिष्कार गर्नुपर्ने लेखेका छन् । यससँगै ट्विटर प्रयोगकर्ताले शाहरुखको आउँदो फिल्म पठानविरुद्ध पनि बोलेका छन्। उनीहरुका अनुसार अभिनेता अक्षय कुमार र अजय देवगनले भारतको इतिहासलाई आफ्ना फिल्ममार्फत् सकरात्मक रुपमा देखाइरहेका बेला शाहरुखका फिल्म त्यसको उल्टो हुने आरोप छ।

यता शाहरुखका ट्विटर फ्यानहरु भने उनको पक्षमा उभिएका छन् । शाहरुखका फिल्महरु चुनावी प्रचार वा कुनै विशेष समूहको स्वार्थका लागि नबनेको भनेर उनीहरु बताउँछन् । शाहरुखको आगामी फिल्म पठानमा अभिनेत्री दीपिका पादूकोणको पनि अभिनय रहेको छ ।

उनीहरुसँगै फिल्ममा अभिनेता जोन अब्राहम र आशुतोष रानालाई देख्न सकिन्छ। यो फिल्मको बजेट लगभग दुईसय पचास करोड भारु छ । फिल्ममा अभिनेता सलमान खानलाई अथिति कलाकारको रुपमा पनि देख्न पाइने छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.