काठमाडौं । जलसम्पदाका हिसाबले नेपाल सम्पन्न देश हो । नेपालमा करिब ६ हजारभन्दा बढी नदीनाला र विश्वको २.२७ प्रतिशत पानी छ । र, पनि नेपाल जलमार्गबाट वञ्चित छ । नेपाल जलमार्गबाट वञ्चित हुनुको कारण के हो भनी प्रश्न आएमा जो कोहीको पनि उत्तर हुन्छ ‘हाम्रो देशलाई समुद्रले छोएको छैन, त्यही भएर ।’ झट्ट सुन्दा यो उत्तर सही लाग्न सक्छ ।
तर, मानवनिर्मित पानमा नहर र नेपालका केही नदीको क्षमता अध्ययन गर्ने हो भने सो उत्तर गलत हुन्छ । पानमा नहर एक मानवनिर्मित जलमार्ग हो । जुन प्रशान्त महासागर र अन्टार्टिका महासागरसँग जोडिएको छ । ६२ किमि औसत लम्बाइ ९० मिटर लामो र १२ मिटर गहिरो यो नहर आज अन्तर्राष्ट्रिय जलमार्गको रुपमा परिचित छ ।
१४ अगस्ट १९१४ मा यो नहर निर्माण भएको यो नहरमा प्रतिदिन ४२ भन्दा बढी जहाज आवतजावत गर्छन् । भारतले पनि यस किसिमको नहर बनाउँदै छ । नेपालको प्रयास केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सहमतिअनुरुप अध्ययन समिति बनेको थियो । उक्त समितिको अध्ययनले नेपालमा जलमार्गको सम्भावना देखाएको छ ।
त्यसैगरी, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका क्रममा भएको १२ बुँदे संयुक्त वक्तव्यमा पनि नेपालका ठूला तीन नदीमा भारतको गंगा हुँदै ठूला तथा मझौला आकारका पानीजहाज चलाउन सकिने उल्लेख छ । सन् २०११/१२ मा नेपाल सरकारले गरेको अध्ययनले तीन नदीमध्ये कोशी ब्यारेजदेखि सुनकोशीको घुर्मीसम्म एक सय ७३ किलोमिटर, गण्डकीको देवघाटबाट फिस्लिङ्गसम्म एक सय ८५ किलोमिटर र कर्णालीको भेरी बेसिनमा एक सय २३ किलोमिटर पानीजहाज चलाउन सकिने देखाएको छ ।
२०२७ सालअघिदेखि अहिलेसम्म जल परिबहनबारे ठोस सन्धि सम्झौता भएका छैनन् । तर, नेपालमा पानीजहाज चलाउने भनी केही विषयमा दुवै देशबीच भएका केही बैठकमा माइन्युट भने भएका छन् । त्यैगरी, नेपाल–भारतबीच सन् १९९९ मा जल यातायात सम्बन्धको दोस्रो बैठकमा पारबहन सन्धिमा हस्ताक्षर भएको छ । सो सन्धिको व्यहोरामा सन्धि संशोधन गर्ने र पानीजहाजका तीन रुट सिफारिस गर्ने उल्लेख छ ।
जलमार्ग अध्ययन समितिका संयोजक माधव बेलवासेका अनुसार अहिलेकै अवस्थामा नेपालमा ५०–६० मेट्रिकटनसम्मका पानीजहाज चल्न सकिन्छ । त्यसैगरी, भीम उपाध्याय २०२७ सालमा कान्तिपथमा ‘अफिस ओसियानिक’ नामको पानी जहाज कार्यालय खुलिसकेको, र रत्नसम्सेर राणा सो अफिसका हाकिम भएको बताउँदै नेपालले प्रयास गरे पानीजहाज चलाउने नेपालको चाहना पूरा हुने बताउँछन् ।
नेपालका नदीको वार्षिक बहाव औसतमा एक हजार पाँच सय घनमिटर प्रतिसेकेन्ड छ । जसले पर्याप्त पानी छ भन्ने पुष्टि गरे पनि हिउँद याममा पानीजहाज चलाउन तीनवटै नदीमा बाँध बाध्नुपर्ने विशेषज्ञको भनाइ छ । पानीजहाज चालउन निजी क्षेत्रले गरेका प्रयास केही वर्षदेखि सप्तकोसीमा बराहक्षेत्र जल यातायात प्रालि, बराहक्षेत्र मारिन एण्ड रिसोर्ट प्रालिलगायतले पानीजहाज जस्तै देखिने साना मोटरबोट सञ्चालन गर्दै आएका छन् ।
यस नदीमा २०६४ सालदेखि मोटरबोट चल्दै आएको हो । मझौला बोटमा एकैचोटि ८० देखि १०० जनासम्म यात्रा गर्न सकिन्छ । साना मोटरबोटमा २० जनासम्मको यात्रा संघव रहन्छ । त्यसैगरी राइनो वाटर इन्टरटेन्मन्ट प्राइभेट लिमिटेडले भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै पानीजहाज निर्माण गर्ने तयारी गरेको थियो । उक्त जहाजमा २०० जनासम्म यात्रा गर्न सकिन्छ । उक्त मिनि पानीजहाज नारायणी नदिमा संचालन गरिने भनिएता पनि हालसम्म संचालनमा आउन सकेको छैन ।
नारायणीमा उक्त मिनि पानीजहाजको सफल परिक्षण समेत भएको थियो । यसरी नेपाली पानीमाथी सपना देख्ने हो भने जलमार्गमा परिवर्तन र विकास संभव देखिन्छ । नेपाल सरकारले जति छिट्टो पानीजहाजमा सपना देख्छ र कार्यन्वयन गर्छ त्यति नै छिट्टो नेपाली पानीजहाज संचालनमा आउने संभावना प्रबल रहन्छ ।