सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाको आयोजना र सगरमाथा साहित्य परिषदको संयोजनमा भएकाे बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको फाइनल चरण शुरु भएको छ ।प्रतियोगिता बुधबार नगरपालिकाकाे प्राङ्गणमा शुरु भएको हो।
कार्यक्रममा बोल्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले सप्तरी जिल्ला मुद्दा लडाइँमा मात्र होईन अब शिक्षामा एक नम्बर हुनेमा विश्वास रहेको बताएका थिए । उनले गुणस्तरीय शिक्षा र क्षमतावान विद्यार्थी उत्पादनमा जोड दिँदै समाज र देश बनाउन युवा तथा विद्यार्थीको जिम्मेवारी रहेको समेत बताएका थिए ।
“मेरो सोचाइ र रोजाइका बाआमा”, “मैले खोजेको र रोजेको शिक्षक” तथा “म र मेरो मनोविज्ञान मैत्री विद्यालय” शीर्षकमा २४ वटा विद्यालयका ४४ जना छात्रछात्राहरु वक्तृत्वकला प्रतियोगितामा सहभागी भएका थिए । ४४ जनामा १५ जना छात्रछात्राहरु फाइनल चरणमा प्रवेश गरेका छन् ।
फाइनल चरणमा प्रवेश गर्नेहरुमा माध्यमिक विद्यालय खोक्सरकी अर्चना कुमारी यादव, भृकुटी माध्यमिक विद्यालय कञ्चनरुपकी प्रज्ञा कोइराला, ह्याप्पिल्याण्ड राजविराजकी कृषा सुवेदी, डेफोडिल कञ्चनरुपकी नन्दनी शर्मा, सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरका साहिल सिंह, मावि ओद्राहाकी सुमित्रा परियार, मावि कट्टीका मातृका प्रसाद यादव, अनुसा कुमारी पण्डित मावि त्रिमुत्ती छिन्नमस्ता, प्रतिक विष्ट मावि सप्तकोसी, श्रुति कुमारी मण्डल मावि मधवापुर, सुस्ता विष्ट गोबद्धन मावि फत्तेपुर, प्राप्ती बस्नेत मावि फत्तेपुर, उर्जा कुमारी साह मावि गोरगामा, सिकेन्द्र कुमार राम मावि बोदेबर्साइन, महेश खडका मावि फत्तेपुर रहेका छन् । फाइनल चरण २६ गते बिहीबार हुने आयोजकले जनाएको छ ।
वक्तृत्वकला प्रतियोगितामा सहभागी हुने २४ विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई दोसल्ला ओढाएर सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।
सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहरकुमार पोखरेलको अध्यक्षतामा उक्त प्रतियोगिता कार्यक्रम सुरु भएको थियो ।