काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमसिसी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गिजोलेको बताएका छन् ।
केही दिनअघि अध्यक्ष दाहालले एमसिसी एमाले अध्यक्ष तथा केपी शर्मा ओलीले गिजोलेको आरोप लगाएको केही दिनपछि नेता बाँस्कोटाले यस्तो बताएका हुन् ।
‘पहिले सम्झौता गर्ने र पछि पारित गर्न नहुने भनेर प्रचण्डले गिजोले एमसिसी गिजोलेका हुन्,’ प्रेस चौतारी कास्कीद्वारा गरिएको कार्यक्रममा बाँस्कोटाले भने, ‘एमसिसी सम्झौता गर्या कसले ? (शेरबहादुर) देउवाले, प्रचण्डले । एमसिसी गिजोल्या कसले ? त्योचाहिँ प्रचण्डले मात्रै हो । अरुले गिजोलेको होइन, यता गिजोल्या’छ, उता गिजोल्या’छ’ उनले भने, ‘पदमा हुँदा एउटा कुरा गर्या’छ, बाहिर निस्किँदा अर्को कुरा गर्या’छ । केपी ओली हुँदा एउटा कुरा गर्या’छ, अर्को कुरा हुँदा अर्को कुरा गर्या’छ । मजाकको विषय हो यो विदेशीसँगको सम्बन्ध ?’
प्रचण्डकै कारण एमसिसी सम्झौता संसदमा पेश हुन नसकेको बताउँदै तत्कालीन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्नि सापकोटाले एमसीसी सम्झौता ढुसी पारेर राखेको बताए । सो क्रममा उनले केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेश गर्न खोज्दा सभामुखले रोकेको बताए ।
‘कृष्णबहादुर महराजीले पनि पेन्डिङमा हाल्दिनु भो । अग्नि सापकोटाजी पनि ढर्रामा ढुसी पारेर राख्दिनु भो, निकाल्दै निकाल्नु भएन’ उनले भने । सरकारसँग १६५ सांसद भएकाले अहिले सरकारले एमसिसी पास गर्न सक्ने बताए । उनले भने, ‘सत्तारुढ दललाई एमालेको सहयोग चाहिँदैन ।’