काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आउँदो चूनावमा माओवादी केन्द्र देशकै ठूलो दल बन्ने बताएका छन् ।
केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने घोषणा गरेका हुन् । ‘विचारमा आधारित विधि, पद्धतिमा आधारित सबै तहमा निर्वाचित प्रतिनिधि रहेको देशकै सबैभन्दा ठूलो पार्टी माओवादी केन्द्र बन्नेछ’, प्रचण्डले भने, ‘आकारमा सानो भए पनि एजेण्डाका आधारमा माओवादी अहिले पनि देशको सबैभन्दा ठूलो दल हो ।’
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीको प्रतिगमनविरुद्ध संघर्षको नेतृत्व माओवादीले गरेकाले पनि आफूहरु एजेण्डामा बलियो भएको तर्क उनले गरे । ‘संविधानसभा, गणतन्त्र, संघीयता जस्ता परिवर्तनका सबै एजेण्डा हाम्रै हुन्, केपी ओलीले प्रतिगमनमार्फत त्यसलाई खोस्ने षड्यन्त्र गरेपछि हाम्रै अगुवाइमा देशभर आन्दोलन भयो’, प्रचण्डले थपे, ‘त्यहीकारण उपलब्धी रक्षा गर्न सकिएको छ । यसबारे आम नेपाली जनता जानकार छन् ।’