गोसाइकुण्ड र गोले जातिको अन्तर्य

काठमाडौं । चिसो हावाको झोक्कासँगै बरालिँदै गरेको बाँदल । कालाकाला पहाड । अनि बिहानीपख हुने बाँदल र सूर्यको किरणबीच हुने लुकामारी । यस्तै चारैतिर देखिने दृश्यका कारण गोसाइकुण्ड साच्चिकै मनमोहक छ । आँखाले भ्याएसम्मको दृश्यमा अटाउन मुस्किल पर्ने कुण्डमा घामले टल्किएको निलो पानीको मनमोहक दृश्य हेर्न भने गोसाइकुण्ड नै पुग्नुपर्ने हुन्छ ।

गोसाइकुण्डले धार्मिक महत्व पनि बोकेको छ । यो स्थान हिन्दु तथा बौद्ध दुवै धर्मावलम्बीका लागि आस्थाको केन्द्र हो । गोसाइकुण्ड क्षेत्रमा लगभग एकसयभन्दा बढी जडीबुटीहरु पनि पाइन्छ । गोसाइकुण्ड रसुवाको सदरमुकाम धुन्चे, खिम्ती, देउराली, ढिम्सा, चन्दनबारी, (सिङगुम्बा), चोलाङपाटी लौरीबिना हुँदै पुग्न सकिन्छ । यसका अलावा काठमाडौंको सुन्दरीजल, हेलम्बु र हेलिकोप्टरबाट पनि यस स्थानमा पुग्न सकिन्छ ।

अग्ला बोटको साटो बुट्यान अनि खाली जमिनमा उभिएर यताउता नियाल्दा चिसो हावाको स्पर्श पैदल यात्रा गर्दा प्राप्त हुने आनन्द हो । यात्राको क्रममा केही पर सेतै भएर ठडिएको लाङटाङ हिमालले जिस्काएझै लाग्छ भने रसुवाको तल्लो भेगलाइ आफ्नो घुम्टोभित्र लुकाएर टम्म फिजिएको सेतो बादलको दुनियामा घण्टौ हराउँदा पनि अघाउदैन ।

४३ सय ८० मिटरको उचाइमा अवस्थित यो स्थल हिन्दु र बौद्ध धर्मावलम्वीको आस्थाको केन्द्र हो । स्थानीयले विभिन्न पूर्णिमामा यस क्षेत्रमा पूजा गरे पनि विशेषतः यहाँ जनैपूर्णिमाका दिन भव्य मेला लाग्छ । पौराणिक कथामा यस कुण्डको उत्पत्ति महादेवबाट भएको भनेर व्याख्या गरिएको छ । देव र दानवले मन्दराचल पर्वतलाई मदानी र बासुकि नागलाई नेती बनाएर समुन्द्र मन्थन गर्दा त्यहाँबाट विष, श्री, रम्भा, वारुणी, अमृत, शंखा, ऐरावत, धन्वन्तरी, धेनु, चन्द्रमा, कल्पवृक्ष, मणि, बाज र धनुष गरी १४ रत्न निस्कियो ।

अन्य रत्न देव र दानव दुवैले बाँडेर लिए तर कालकूट विष भने कसैले लिएनन् । उक्त विष फैलिएमा विनास निम्तिने भएपछि ब्रम्हको अनुरोधमा शिवले आफ्नो कण्ठमा धारण गरेको किवदंती छ । विषले छटपटाएका महादेव आफूलाइ शान्त पार्न पहाडमा गए ।

त्यही पहाडमा त्रिशुलले खोपेर निकालिएको पानीमा डूबेर बस्दा महादेव शान्त भएको भन्ने पौराणिक कथामा उल्लेख छ । त्रिशूलले खोपी निस्किएको पानीबाट गोसाइकुण्ड, भैरवकुण्ड, पार्वतीकुण्ड सूर्यकुण्डलगायत १०८ कुण्ड बनेको मान्यता छ । यहि कुण्ड नै त्रिशूलि नदिको उत्पत्ति थलो हो ।

गोसाइकुण्डप्रतिको आस्था
गोसाइकुण्डमा गएर स्नान गर्दा ग्रह दशा कट्ने, रोग व्याधि हट्ने र इच्छाइएको कुरा पुग्ने विश्वास छ । तर, इच्छाइएको पूरा भएपछि पुनः दर्शन नगरे अनर्थ हुने किवदंती पनि छ । झाँक्री र लामा विद्या प्राप्तिका लागि गोसाइकुण्ड जाने गर्छन् भने गुफा (छम) बसेका झाँक्री (बोन्बो) बोधिसत्व प्राप्त गर्न गोसाइकुण्ड जाने गर्छन् ।

तामाङ समुदायको नजरमा गोसाइकुण्ड
रसुवाका तामाङले यस कुण्डलाई आफ्नो मुख्य शक्तिपीठको रुपमा लिन्छन् । मसिंरमा अन्नबाली भित्र्याउने समयमा असिनापानी नपरोस् भनेर झाँक्रीले विशेष पूजा गरेपछि असिना रोकिन्छ भन्ने मान्यता तामाङ जातिमा छ । तर, गोसाइकुण्डनजिकै बसोबास गर्ने गोले थरका तामाङ भने गोसाइकुण्डनजिकै रहेको भैरवकुण्डमा जाँदैनन् ।

गोले झाँक्रीको विद्या शक्तिशाली थियो । यसैक्रममा झाँक्री र उनकी पत्नी गोसाइकुण्ड दर्शन गर्न गएका थिए । भैरवकुण्डको दर्शन गर्ने क्रममा नाग र गोले झाँक्रीबीच घमासन युद्ध भयो । झाँक्रीले श्रीमतीलाई ढ्याङ्ग्रो बजाउन लगाएर आफू कुण्डमा छिरी नागसँग युद्ध गरी बाहिर निस्कन्छन् । उनीसँगै विशाल नाग पनि बाहिर निस्किन्छ । विशाल नाग देखेर उनकी श्रीमती ढ्याङ्ग्रो छाडेर भाग्छिन् । ढ्याङ्ग्रो बज्न छाडेपछि नागले झाँक्रीलाई कुण्डमा लगेको, र उनी त्यहाँबाट ननिस्किएको मान्यता छ ।

यस्तो मान्यताले गोसाइकुण्डको महत्व अझ बढाएको छ । जसले गोसाइकुण्ड दृश्यावलोकनका लागि मात्रै नभएर धार्मिक आस्थाको केन्द्र हो भन्ने मान्यता पनि स्थापित गराएको छ । पूृर्वाधार विकास गर्ने हो भने यो स्थान आन्तरिक र बाह्य पर्यटक भित्र्याइ रोजगारको अवसर सिर्जना गर्नुका साथै अर्थोपार्जनको स्रोत बन्न सक्छ ।

पर्यटन विकाससँगै गोसाईकुण्डलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न सके यसको महत्व अझै बढ्नेछ । पर्यटकका लागि गोसाईकुण्ड अनिवार्य विशेष गन्तव्य बन्न सक्छ । पर्यटनको दृष्टिकोणबाट समृद्ध नेपाल निर्माणमा गोसाईकुण्ड एउटा उदाहरण बन्न सक्छ । तसर्थ राज्यको यसतर्फ ध्यान जान जरुरी छ ।

के गर्दैछन् स्थानीय सरकार ?
गोसाइकुण्ड पुग्नको लागि सहज रुपमा सडक निर्माण गर्न सके तिर्थालु र पर्यटकहरुको संख्यामा वृद्धि हुने निश्चित छ । कतिपयले भने गोसाइकुण्डमा सडक पुर्याउँदा त्यस क्षेत्रको महत्व कम हुने बताउँछन् । सरकारले पर्यटन पूर्वाधार र फिल्म छायाँकनलाई मध्य नजर गरि रुवि भ्याली हुँदै गणेश हिमालको आधार शिविरसम्म सडक निर्माण गर्न बजेटको व्यवस्था गरेको छ । त्यस्तै गोसाइकुण्डको लागि पनि सरकारले ध्यान दिने सके त्यस क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा बल पुग्ने छ ।

धर्मिक पर्यटकको आकर्षणमा रहेको गोसाइकुण्ड गाउँपालिका क्षेत्रको स्तरोन्नतीमा भने गोसाइकुण्ड गाउँपाकिाको विशेष ध्यान रहेको गापा अध्यक्ष कैसाङ नुर्पु तामाङको भनाइ छ । २०७२ सालको भूकम्पले क्षति पुगेको मन्दिरको जीर्णाेद्धारसँगै कुण्ड छेउछाउका पाटी मर्मत गरिएको छ । यसका साथै कुण्ड पुग्ने बाटोघाटोको स्तरोन्नतीका लागि यसै वर्ष पनि ८ करोडको बजेट निकासा गरिएको अध्यक्ष तामाङ बताउँछन् ।

तिर्थालु एवं पर्यटकलाइ हिँड्न सहज होस भन्ने मनसायका साथ नेपाली सेनाले प्रधानसेनापती परियोजना अन्तर्गत बुद्ध मन्दिरदेखिमाथि रेलीङ निर्माण गरिएको छ । गेसाइकुण्डका लागि स्याफ्रुको बाटो पनि प्रयोग गर्न सकिन्छ । गोसाइकुण्डमा हेलीको माध्यमबाट पनि दर्शन गर्न सकिन्छ । हेली अवतणमा समस्या पुगेकोले गाउँपालिकाले थप हेली प्याड निर्माण गर्ने योजना रहेको अध्यक्ष तामाङको भनाइ छ ।

गोसाइकुण्ड सहित गाउँपालिकाभित्र पर्ने कुनै पनि धार्मिक एवं पर्यटकीय क्षेत्र प्रवेशका लागि कुनै शुल्क तोकिएको छैन । तर राष्ट्रिय लाङटाङ निकुञ्जभित्र पर्ने भएकोले विदेशी पर्यटकले भने निकुञ्जलाइ केही रकम तिर्नुपर्ने हुन्छ । निकुञ्जभित्र धेरै पर्यटक हराउने समस्या आएको हुँदा पालिकाले ट्र्याकिङ सिस्टम सुचारु गर्ने तयारी गरेको अध्यक्ष तामाङले बताए ।

काठमाडौंबाट धादिङ–गल्छी वा नुवाकोट–ककनी हुँदै नुवाकोटको विदुर पुगिन्छ । विदुर हुँदै रसुवाको वेत्रावति, कालिका हुँदै धुन्चे पुग्न सकिन्छ । धुन्चेबाट एक दिनको पैदल यात्रामा सजिलै गोसाइकुण्ड पुगिन्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.