एजेन्सी । तालिबानले न्यूयोर्क सहरमा जारी राष्ट्रसङ्घीय महासभामा विश्वका नेताहरूलाई सम्बोधन गर्न दिनका लागि आग्रह गरेको छ ।
अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुताकीले सोमवार त्यस्तो अनुरोध सहितको पत्र संयुक्त राष्ट्रसङ्घमा पठाएका थिए । यो विषयबारे संयुक्त राष्ट्रसङ्घको एक समितिले टुङ्गो लगाउने बताइएको छ ।
तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसङ्घका लागि आफ्ना राजदूत समेत नियुक्त गरिसकेको छ । गत महिना अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिवानले पछिल्लो सरकारका पालामा राष्ट्रसंघ पठाइएका राजदूतले यतिखेर आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ।
राष्ट्र संघको उच्चस्तरीय बहसमा सहभागी हुन गरिएको अनुरोधलाई राष्ट्र संघकै क्रेडिन्सियल कमिटीले विचार गरिरहेको बताइएको छ। यो कमिटीमा अमेरिका, चीन र रुस सहितका नौ देशहरू रहेका छन् ।
तर यो समितिको बैठक आउँदो सोमवार महासभा अन्त्य हुनुअघि हुने सम्भावना देखिएको छैन । राष्ट्रसङ्घको नियम अनुसार त्यसबेलासम्म विश्व समुदायका लागि अफगानिस्तानका राजदूतमा गुलाम इसाकजाई नै कायम रहनेछन्। महासभाको अन्तिम दिन अर्थात २७ सेप्टेम्बरमा उनले मन्तव्य दिने बताइएको बिबिसीले जनाएको छ।