काठमाडौं । सत्तारुढ दललाई मन्त्रिपरिषद् विस्तार गर्न सकस भएको छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाएको गठबन्धले करिब अढाइ महिनासम्म पनि मन्त्रिपरिषद विस्तार हुन नसक्दा गठबन्धन सकसमा परेको हो ।
सरकार विस्तार हुन नसक्नुमा राजनीतिक दलभित्रको आन्तरिक कारण र अध्यादेश मुख्य बाधकका रुपमा छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय भएर केही सहजता हुने अनुमान गरे पनि सर्वोच्चले नेकपा एस पार्टी विभाजनको सक्कल माग गरेरसँगै अझ केही दिन लम्बिन सक्ने संकेत देखिएको छ ।
राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज वा निलम्वन नभई सरकार विस्तार गरेमा आफ्नो पार्टी फुट्ने आँकलन गरेका उपेन्द्र यादवले बारम्बार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारजे नभई सरकारमा नजाने बताउँदै आएका छन् ।
यही बीचमा राजनीतिक दल आजबाट मन्त्रिपिरषद् विस्तारमा सक्रिय भएका छन् । सत्ता घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बैठक राखेका छन्।
नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो ३ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दै छ। त्यसैगरी, माओवादी केन्द्रले दिउँसो ३ बजे नै पार्टी स्थायी समिति बैठक बोलाएको छ भने केन्द्रीय समिति बैठक बसिरहेको समयमा नेकपा (एकीकृत समाजवादी)ले पनि स्थायी समिति बैठक बोलाएको छ।