कांग्रेस राजनीतिको मूल प्रवाहमा युवाको सम्भावना कति ?

नेपाली कांग्रेसको महाधिवेशनका क्रममा दैलेखकी १९ वर्षीया स्वस्तिका कुमारी महत, अछामकी २२ वर्षीया जानकी रावललगायत युवा नेपाली कांग्रेस वडासभापितमा चयन भए । 

त्यसैगरी, महाधिवेशनका क्रममा अन्य प्रतिस्पर्धामा पनि युवाको उल्लेख्य उपस्थितिको संकेत देखिँदै छ । राजनीतिमा युवा पुस्ताको भूमिकालाई लिएर बहस भइरहेका बेला कांग्रेमा युवाको उपस्थिति हुनुलाई कांग्रेस राजनीतिमा उत्साहका साथ हेरिएको छ ।

कांग्रेसमा देखिएको युवाको सहभागिताले नेपालमा पनि फिनल्यान्डमा जस्तै ३४ वर्षीया सन्ना र बेल्जियमका ३९ वर्षीया चाल्र्स मिचेलले  जस्तै प्रधानमन्त्रीको बागडोर सम्हालेर नेपालको राजनीति उदाहरणका रुपमा प्रस्तुत हुन्छ कि भनी झिनो आस पनि पलाएको छ। 

नेपालको सन्दर्भमा राजनीतिक क्रान्तिमा अग्रपंक्तिमा उभिने युवा अवसरबाट भने सधैँ वञ्चित हुँदै आएका छन् । हरेक राजनीतिक क्रान्तिमा युवाले निर्वाह गरेको भूमिकालाई निकै महत्त्व दिइन्छ, तर अवसर दिने वा पाउने बेलामा भने युवालाई बिर्सिने नेपालको विशेषता हो । 

राजनीतिको नेतृत्व तहमा युवालाई अवसरबाट वञ्चित गरिँदै आएको छ। यो प्रवृत्ति सबै राजनीतिक दलमा देख्न पाइन्छ। अवसरको खोजीमा लागेका युवालाई नेतृत्व तहले सधैं उपेक्षा र तिरस्कार गर्दै आएको छ। त्यसैले राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका संवाहक भनिएका युवा राजनीतिक नेतृत्व तहसँग असन्तुष्ट छन् र निराश छन्।

यही निराशाले विरक्तिएका युवा विदेश पलायन हुने क्रम विगत तीन–चार दशकदेखि बढेको बढ्यै छ। राजनीतिक, सामाजिक र आर्थिक दृष्टिकोणले पनि यो राम्रो संकेत पक्कै होइन।

नेपालको मूलधारको राजनीतिमा नेतृत्व गर्न सक्षम दोस्रो र तेस्रो पुस्ता पनि तयार भइसकेको छ। तर, तिनले नेतृत्वको अवसर भने पाउन सकेका छैनन्। नेतृत्व हस्तान्तरण गर्न पहिलो पुस्ता अझै तयार भएको छैन।

शक्तिको शान र मानको लोभले नेतृत्व हस्तान्तरण गर्न पहिलो पुस्ताका नेताहरूले अझै चाहिरहेका छैनन्। आफ्नै ज्यान सम्हाल्ने शक्ति नभएका बूढा नेताहरूको नेतृत्व सम्हाल्ने चाहना अझ बढी छ । 

परिवर्तनको नयाँ सोच, विचार र दूरदृष्टि बोकेर कर्म क्षेत्रमा उत्रन आतुर युवालाई सधैं अवसरबाट वञ्चित गर्नाले मुलुक समृद्धि यात्रामा पछाडि परेकोमा दुई मत छैन।

युवालाई अवसर, युवा परिचालन र युवा सहभागिताबिना मुलुक समृद्धि यात्रामा अगाडि लम्कनै सक्दैन।

अझै पनि एकथरि युवा बुढा नेताकै खेताला बन्न लालायित छन् भने अर्काथरि युवा राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा पनि समान अवसरको आकांक्षी बनेका छन्। समान अवसरको आकांक्षी युवाको विद्रोही आवाजलाई भने नेतृत्व तहबाट दबाउने वा पन्छाउने प्रयास हुँदै आएको छ।

योग्य, सक्षम र इमानदार युवालाई अवसरबाट वञ्चित गरेर राजनीतिमा वर्चस्व कायम राख्दै आएका बूढा नेताहरूको ‘हामी र हाम्रा’ भन्ने प्रवृत्तिका कारण अवसरका आकांक्षी युवामा राजनीतिप्रति नै वितृष्णा उत्पन्न हुने गरेको छ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा भएको प्रतिनिधि चयनको चुनावमा युवा पुस्ताको विजय शृंखलाले मुलुकको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा युवा नेतृत्वको आवश्यकता छ भन्ने युवाको आवाजलाई उजागर गरेको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.