काठमाडौं । चितवनको सत्ता गठबन्धन संयन्त्रले जिल्लाका ७ वटै स्थानीय तह र जिल्ला समितिमा समेत चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ । सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो ।
काँग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरिएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
निर्णयअनुसार जिल्लाका सबै पालिकामा गठबन्धनका दलहरूबीच चुनावी तालमेलका लागि नेपाली कांग्रेसको सम्बन्धित पालिका सभापतिको नेतृत्वमा संयन्त्र बनाउने निर्णय गरेको छ ।
यस्तै जिल्लाको दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १–१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय पनि भएको छ ।
