मन्त्रिपरिषदलाई लिएर देउवालाई पौडेलको प्रश्न : हाम्रो समूहलाई के गर्छौँ ?

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्त्रिपरिषदमा आफूपक्षी नेताको व्यवस्थापनलाई लिएर सभापति देउवासित प्रश्न गरेका छन् । 

देउवाले सत्ता गठबन्धनमा मात्रै छलफल गरेर कांग्रेसका भागको परराष्ट्र मन्त्रालयमा नारायण खड्कालाई नियुक्त गरेपछि बुधबार महाराजगन्जस्थित महामन्त्री शशांक कोइराला निवासमा बसेको पौडेल समूहको बैठकमा नेता पौडेलले यस्तो प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको भागबाट स्वास्थ्यमन्त्रीसहित चार मन्त्री एकलौटी रुपमा नियुक्ति गरिसकेका छन् । नियुक्त मन्त्रीबारे आफूसँग कुनै पनि छलफल नगरेको पौडेलको आरोप छ ।     

प्रधानमन्त्री देउवाले आफ्नोतर्फका सांसदहरुलाई व्यक्तिगत रुपमा चयन गरेर समेत मन्त्री बनाउने र खेलबाड गर्ने कोसिस गरेको भन्दै पौडेल समूहले एकताबद्ध भएर सामूहिक रुपमा भाग लिने विषयमा जोड दिनेसमेत निर्णय गरेको छ । ‘प्रधानमन्त्रीले हाम्रो समूहभित्र खेल्न मिल्दैन । हाम्रो समूहले पाउने कति हो ? त्यसमा हामी आफैंले समूहगत रुपमा मन्त्रीको नाम सिफारिस गर्ने र त्यसमा नेताहरुबीच एकताबद्ध भएर प्रस्तुत हुने निर्णय भएको छ,’ उनले भने ।

पौडेल समूहको बैठक सकिएपछि नेताहरु सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेका छन् । देउवाले मन्त्रिपरिषद् विस्तार र पार्टीको महाधिवेशनलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.