काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन पास भएको छ । मंगलबार बसेको एस पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले पेस गरेको सो प्रतिवेदन आज पास भएको हो । प्रतिवेदन समूहगत छलफलपश्चात् पास भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
मंगलबार अध्यक्षद्वारा पेस गरिएको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि ५ समूह बनाइएको थियो ।
अध्यक्ष नेपालको राजनीतिक प्रस्तावमा छलफल गर्न रामकुमारी झाँक्री, रामचन्द्र साह, रमा आले, श्रीप्रसाद साह र दिनेश राईले समूहको नेतृत्व गरेका थिए । समूह नेताले दिएका सुझावलाई समेत समेटेर बुधबारको बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको हो ।
आजको बैठकले अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन पास गर्ने र महासचिव चयन गर्ने कार्ययोजना भए पनि बैठकले महासचिव चयन गर्न सकेन।
बुधबारको बैठकमा सुझावको सारांशमा संश्लेषण गर्दै अध्यक्ष नेपालले जबज सिर्जनात्मक अध्याय भएको भन्दै त्यसलाई थप सिर्जनात्मक बनाउने बताएका थिए ।
भोलिको बैठकले तीन महिने कार्ययोजना पास गर्नुका साथै महासचिव समेत चयन गर्नेछ । साथै स्थायी समिति र पोलिटब्यूरो सदस्य समेत भोलिको बैठकले टुङ्गो लगाउने छ ।