लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणनाबारे अझै अन्योलता

काठमाडौं । देशभर १२ औं राष्ट्रिय जनगणनाको सूचीकरण सुरु भएपनि दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेट्ने विषयबारे अझै अन्योलता रहेको छ ।

२०७७ जेठ ७ गते नेपाल सरकारले जारी गरेको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटिएको थियो । सरकारले यी भूभागलाई नक्सामा समावेश गरे पनि नेपालको प्रशासनिक नियन्त्रणमा भने आइसकेको छैन । जसका कारण जनगणना गर्ने विषय अन्योल बनिरहेको छ ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले त्यस ठाँउमा जनगणनाका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा प्रहरी प्रशासनबीच छलफल भइरहेको बताए । ‘छलफलपछिको निष्कर्ष एक सातामा आउला’, लामिछानेले न्युज कारखानासँग भने, ‘भौतिक रूपमा त्यहाँ जान सकिन्न, स्याटलाइट इमेज विधि प्रयोग गरी तथ्यांक गणना गर्ने सम्भावना छ।’

यस्तै, जिल्ला जनगणना अधिकारी दार्चुलाका पदमराज पाण्डेले जीउधनको सुरक्षाको सुनिश्चितता गर्दिए मात्र सुरपरीवेक्षकहरू त्यस ठाँउमा जाने बताउँदै आएका छन् । पाण्डेले भने, ‘नेपाली सेनाको नियन्त्रण क्षेत्रसम्म मात्र हामी सूचीकरण गर्न जान सक्छौँ।’

३० भदौदेखि राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरू भएको छ । यसअघि २५ जेठदेखि जनगणना गर्ने कार्यक्रम तय भएको थियो । तर, कोरोना महामारीका कारण अभियान स्थगित भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.