माधव नेपालको राजनीतिक प्रतिवेदन : दक्षिणपन्थी अवसरवाद परास्तदेखि जबजसम्म
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीबाट पारित भएको छ ।

केन्द्रीय सदस्यहरूको छलफल र सुझावसहित बुधबारको केन्द्रीय बमिटी बैठकले राजनीतिक प्रस्ताव पारित गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार प्रतिवदेनमा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई विकसित गर्दै लैजानेदेखि युवा प्रतिनिधित्वसम्म समेटिएको छ ।

प्रतिवेदनमा समेटिएका मूल बुँदामा जनताको बहुदलीय जनवाद मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने सम्बन्धमा देखापरेको एउटा सिर्जनात्मक अध्याय भएको स्वीकार गर्दै यसलाई थप विकसित गर्ने । जबजका सारभूत विचारहरूलाई पक्रिँदै समाजवाद र समृद्धिको यात्रामा जाने उल्लेख छ ।

यसरी नै कम्युनिस्ट आन्दोलनभित्र दक्षिणपन्थी अवसरवाद हावी भएकाले यसलाई परास्त गरी असल कम्युनिस्ट पार्टी, आदर्श कम्युनिस्ट निर्माण गर्ने । दक्षिणपन्थी अवसरवादबाट मुक्त गर्न एकताबद्ध हुने पनि प्रतिवेदनमा उल्लेख छ ।

संविधानले परिकल्पना गरेको प्रगतिशील समाजवाद हुनुपर्ने । पुँजीवादी र प्रजातन्त्रवादीले भनेजस्तो होइन, कम्युनिस्टले भनेजस्तो मार्क्सवादी राजनीतिक अर्थशास्त्रले परिकल्पना गरेको सामाजिक न्याय र समानतासहितको समाजवादको स्थापना गर्न प्रतिबद्ध हुने । त्यतातिर पार्टीको कार्यक्रमलाई केन्द्रित गर्दै लैजाने प्रतिवेदनमा भनिएको छ ।

र, पार्टीको यात्रा अब अनुशासित तर युवाहरूका लागि हुनुपर्ने । अनुशासित र नयाँ पुस्ताका लागि हुनुपर्ने । आउँदो शताब्दीका लागि असल कम्युनिस्ट पार्टी कस्तो बनाउन सकिन्छ भनेर यसका सम्पूर्ण चिन्तन प्रणाली, संगठनात्मक प्रणाली, प्रतिनिधित्व प्रणाली सबैलाई एक ठाउँमा ल्याएर नयाँ पार्टी बनाउनुपर्ने उल्लेख छ ।

यी विषयमा पार्टीको प्रतिवेदन केन्द्रित रहेको प्रवक्ता खतिवडाले बताए । 'काम गर्ने सक्षम युवाहरूको प्रतिनिधित्व नछुटाउने गरी प्राथमिकता दिने नीति छ । ४० वर्षका युवालाई केन्द्रीय कमिटीमा राख्न मिहिनेत गरिरहेका छौँ', उनले भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.