काठमाडौं। साताको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ । आज दिनभर कारोबार हुँदा बजार सकारात्मक देखिएको हो । शेयर कारोबारमापक नेप्से परिसूचक २ दशमलव ७० अंकले बढेर २ हजार ८ सय १९ दशमलव ६५ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटि इन्डेक्स पनि १.९३ अंकले बढेको छ । यसअघि बुधबार नेप्से परिसूचक सय अंकभन्दा बढीले सुधारिएको थियो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार आएको हो ।
बुधबार साढे ६ अर्ब पनि नपुगेको शेयर कारोबार रकम बिहीबार भने ७ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ पुगेको छ । बिहीबार धेरै जसो बैंक र फाइनान्स कम्पनीको शेयर मूल्य बढेको छ ।
समूहगत सवइन्डेक्समा पनि बैंक २ प्रतिशतभन्दा धेरै बढेको छ भने फाइनान्स पनि झिनो अंकले सुधार भएको छ भने बाँकी सबै सबइन्डेक्स घटेका छन् ।