हुम्ला । हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएपछि हुम्लावासी हर्षित भएका छन्। संघीय सांसद छक्कबहादुर लामाले सरकारको निर्णयले निर्माण कम्पनीबाट ढिलो र समयमै काम सम्पन्न नहुने हालसम्मको भोगाइलाई बिदा भएको बताएका छन् ।
कर्णाली कोरिडोरअन्तर्गत हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको दुल्ली कुनादेखि खार्पुनाथ गाउँपालिकाको लाली बगरसम्मको सडक निर्माण भएसँगै हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको हो। जुन सडकको निर्माण गर्ने जिम्मा सरकारले नेपाली सेना दिएको छ।
नेपाली सेनालाई उक्त सडक निर्माण गर्न दिने सरकारको निर्णयको हुम्लावासीले स्वागतसमेत गरेका छन्। असजिलो सडक खण्डको काम सेनालाई दिएसँगै काम समयमै सम्पन्न हुने हुम्लावासीको विश्वास रहेको छ। सरकारले कर्णाली करिडोरको हुम्ला खण्डको दुल्ली कुनादेखि लालीबगरसम्मको सात किलोमिटर असजिलो खण्डको काम सेनाको विकास निर्माण दललाई जिम्मा लगाउने निर्णय गरेको थियो।
सडक निर्माणको दुरी छोटो भए पनि कठिन क्षेत्रमा पर्छ। उक्त क्षेत्रको सडक निर्माणको जिम्मा सेनालाई दिन दुई वर्ष अगाडिदेखि हुम्लावासीले माग गर्दै आएका छन्। स्थानीयले निजी निर्माण कम्पनीबाट उक्त सडकको काम गरेको भए तीनदेखि चार वर्षसम्म पनि सदरमुकाम नआउने आशंका व्यक्त गर्दै आएका छन्।
नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली कोरिडोरको खुलालु, लैफु सलीसल्ला सडक आयोजनाका प्रमुख मिलन कार्कीले सरकारले निर्णय गरेको र अब सेवा सडक विभागको पत्रको प्रतिक्षामा रहेको बताए। सडक विभागबाट काम जिम्माको परिपत्र आउनेबितिक्कै काम सुरु गरिने उनले जानकारी दिए।