काठमाडौं । अन्नपूर्ण पदमार्गमा छिटफुट पर्यटक भित्रन थालेका छन् । पदमार्गको धेरै ठाउँ ओगट्ने मनाङ र मुस्ताङले पर्यटक आवागमनका लागि खुला गरेपछि अहिले छिटफुट विदेशी पर्यटक भित्रिएका हुन ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जिल्ला केभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले औपचारिक रूपमा असोज १ देखि पर्यटक आवागमन खुला गरेको बताए ।
‘छिटफुट पर्यटक आउने गरेका छन् । हामीले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप लगाएको कार्ड अनिवार्य गरेका छौं,’ उनले भने । स्थानीय बासिन्दा र कर्मचारीमा भने लागू नगरिएको उनले बताए । मुस्ताङले भने ७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङको धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार सेप्टेम्बरको तेस्रो सातासम्म ५५ पर्यटक अन्नपूर्ण पदमार्गमा आएका छन् । जनवरी र फेब्रुअरीमा भने पर्यटन आवागमन शून्य थियो । मार्चमा ६६, अप्रिलमा ३ सय ६६, मेमा ४८ जना पर्यटक आएको उनले बताए । जुन र जुलाईमा १/१ जना पर्यटक मात्रै आए । अगस्टमा ३ जना आए ।
सन् २०१८ मा २९ हजार ४ सय ८४ जना पर्यटक भित्रिएका थिए । २०१९ मा २६ हजार ६ सय ४७ जना पर्यटक आए । सन् २०१९ को डिसेम्बर अन्तिमतिर चीनको वुहानबाट कोभिड फैलिएको थियो । सन् २०२० मा १ हजार ९ सय ७६ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिए ।