सिमकोट । हुम्लाका दुर्गममा खटिएका सुपरिवेक्षकलाई जनगणनामा समस्या भएको छ । गणनामा परिचालन भएका सुपरिवेक्षकले मोबाइल एप प्रयोग गर्नुपर्ने भए पनि टेलिफोन र इन्टरनेटका कारण समस्या भइरहेको राष्ट्रिय जनगणना कार्यालय हुम्लाका प्रमुख विनोद भट्टले जानकारी दिए ।
३० भदौमा २३ सुपरिवेक्षक खटिएका छन् । तर, हालसम्म दुई जनाले मात्र मोबाइल एपमा एउटा-एउटा वडाको अद्यावधिक विवरण अपलोड गरेको उनले बताए ।बाँकी सुपरिवेक्षकसँग टेलिफोन सम्पर्क हुन सकेको छैन ।१८ असोजसम्म पहिलो चरणको जनगणनाअन्तर्गत घर, परिवारलगायतको गणना भइरहेको छ । सुपरिवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० प्रश्न सोध्ने काम जारी रहेको भट्टले बताए ।
सूचीकरणका लागि अदानचुली,ताँजाकोट, चंखेली र खार्पुनाथ गाउँपालिकामा तीन जनाका दरले सुपरिवेक्षक खटाइएको छ । सर्केगाडमा चार जना, सिमकोटमा पाँच जना र नाम्खा गाउँपालिकामा दुई जना गरेर २३ जना सुपरिवेक्षक खटाइएको छ । २०६८ को जनगणना अनुसार जिल्लाभर घरपरिवारको संख्या ९ हजार ४ सय ७९ थियो । जिल्लाको जनसंख्या ५० हजार ८ सय ५८ छ ।