प्रहरीले अघि सार्‍यो दशैं, तिहार र छठ पर्वलक्षित विशेष सुरक्षा योजना 

कैलाली । कैलाली प्रहरीले दशैं, तिहार र छठ पर्वलक्षित विशेष सुरक्षा योजना अघि सारेको छ । प्रहरीले चाडपर्वमा हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर यस्तो योजना अघि सारेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले दशैं, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगीलगायतका अपराधिक गतिविधिलाई ध्यान दिंदै सुरक्षा योजना लागू गरिएको बताए । 

कैलाली जिल्लालाई दुई भागमा विभाजन गर्दै एकीकृत सुरक्षा योजना बनाइएको र एक सय ७३ स्थानमा विशेष टोली परिचालन गरिएको उनले बताए । ‘हामीले प्रदेशको अस्थायी राजधानी समेत भएकाले धनगढी उपमहानगरपालिका एउटा र अन्य क्षेत्रलाई अर्को गरेर दुई भागमा बाँड्दै सुरक्षा योजना बनाएका छौँ,’ अधिकारीले भने । 

‘धनगढी उपमहानगरपालिकाका ५६ स्थानमा विशेष टोली परिचालन गरेका छौं । बाँकी ११७ भागमा पनि त्यहीअनुसार प्रबन्ध मिलाएका छौं ।’

चाडपर्वका बेला सीमा नाका र बैंक तथा वित्तीय संस्थाहरु हुने स्थानलाई लक्षित गर्दै कडाइको नीति लिएको प्रहरीले जनाएको छ । सीमा नाकामा यात्रु ठगिने तथा लागुऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार हुनसक्ने भएकाले कुकुर समेत परिचालन गर्ने योजना बनाइएको एसपी अधिकारीले बताए ।

ड्रोनमार्फत समेत जिल्लाभर निगरानी बढाउँदै शान्ति सुरक्षा कायम गरेर शान्ति पूर्वक तरिकाले चाडपर्व मनाउने वातावरण सिर्जना गरिने प्रहरी बताउँछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.