काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार भारतीय सीमानाकामा सिसी टिभी जोडेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डचौकी सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरी सञ्चालनमा ल्याएको हो ।
प्रदेशको आन्तरिक मामला तथा कानुन मन्त्रालयले अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेतीमा सिसीटिभी क्यामेरा नेपाल प्रहरीलाई हस्तान्तरण गर्दै सञ्चालनमा ल्याएको छ ।
सीसीटिभी क्यामेराले आपराधिक गतिविधि नियन्त्रण गर्न मात्र नभई राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न तथा दुर्घटनाका दोषीलाई पक्राउ गर्न सहज हुने बताइएको छ ।
आन्तरिक मामला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार १ करोड ७१ लाख रुपैयाँको लागतमा सिसीटिभी क्यामेरा खरिद गरी पूर्व–पश्चिम राजमार्ग सडक खण्डका १३८ स्थानमा जडान गरिएको जनाएको छ ।
चिसापानीदेखि गड्डाचौकीसम्म पर्ने इलाका प्रहरी कार्यालयले हेर्ने गरी १२ स्थानमा सिसीटिभी क्यामेराको स्टेसन राखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अत्तरियादेखि त्रिनगर भन्सार नाकासम्मसमेत सिसीटिभी क्यामेरा जडान गरेको छ ।