काठमाडौँ नक्कली फेसबुक अकाउन्ट बनाएर आफूलाई बेलायती नागरिक बताउँदै नेपाली युवतीसँग सामाजिक सञ्जालमार्फत सम्पर्क गर्ने र विवाह गर्नेसम्मको प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पादरी पक्राउ परेका छन्।
भारतको सिलगुढीस्थित चर्चका पादरी सन्दीप क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। ३३ वर्षीय क्षेत्रीले न्यान्सी माइकल नामबाट अकाउन्ट खोली नेपाली युवतीसँग सम्पर्क बढाएर विवाह गर्नेसम्मको प्रलोभन देखाएको प्रहरीले जनाएको छ।ती युवतीलाई विभिन्न गिफ्टहरु पठाइदिएको र त्यसलाई भन्सार क्लियर गर्न पैसा लाग्ने भन्दै बारम्बार पैसा लिइएको थियो। ती युवतीले पठाएको पैसा क्षेत्रीले विभिन्न बैंक अकाउन्टमा राख्न लगाएको महाशाखाले जनाएको छ।
आफू ठगिएको चाल पाउँदासम्म ती युवतीले ५ लाख १० हजार रुपैयाँ पठाइसकेकी थिइन्। चर्चकै विभिन्न महिलाहरुलाई प्रयोग गरेर उनले उनीहरुको नाममा बैंक अकाउन्ट बनाउन लगाउने र ठगी गरेको पैसा त्यसैमा हाल्न लगाउने गरेको प्रहरीले जनाएको छ।