घुम्नै पर्ने मुख्य पाँच तीर्थस्थल

काठमाडौं । नेपाल भौगोलिक दृष्टिले सानो छ। तर, विविधताका दृष्टिले विशाल छ । केही घन्टाको यात्रमै हिमाल, पहाड र तराईको अवलोकन र पर्यावरणीय मनोरम लिन सक्नु नेपालको मुख्य विशेषता हो । यही विशेषताभित्र जातीय विविधता र धार्मिक विविधता पनि छ । नेपाल हिन्दु, बौद्धलगायत धार्मिकस्थलको मुख्य केन्द्रको रुपमा विगतदेखि चिरपरिचित छ  ।

१३१ जातजातिको बसोबास रहेको यस देशमा प्रत्येकका आ–आफ्ना संस्कार तथा संस्कृति छन् । र, तिनलाई एकत्रित गर्दै साझा संस्कार र संस्कृतिको विकास भएको छ । एकले अर्काको धार्मिक आस्थालाई सम्मान र श्रद्धा गर्ने प्रचलन छ ।

धर्मिक नाममा नेपालमा द्वन्द्व कहिल्यै भएको छैन । बरु विविधतालाई एकतामा रुपान्तरण गर्न सहयोगी भूमिका खेल्ने संस्कारको विकास हुँदै गएको छ । यिनै कारणले नेपाल विश्वमै सर्वाधिक मनाइने धर्ममध्ये हिन्दु र बौद्ध धर्मावलम्बीको मुख्य आकर्षकको बिन्दु बनेको छ ।

पशुपतिनाथ
काठमाडौंमा अवस्थित पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बीको मुख्य आस्थाको केन्द्र हो । जहाँ बिहानदेखि बेलुकासम्म निरन्तर पूजापाठका लागि तीर्थालुको भीड लाग्छ । यस मन्दिरमा बिहानको चार बजेदेखि बेलुकासम्मै पूजापाठ निरन्तर भइरहन्छ । यस मन्दिरमा विशेषगरी महाशिवरात्रि, हरितालिका तीज, बालाचतुर्दशी, साउन महिनाभर र हरेक महिनाका सोमबार तीर्थालुको भीड लाग्ने गर्छ ।

मुख्यतयाः महाशिवरात्रिका दिन लाग्ने महामेलामा छिमेकी मुलुक भारतबाट शिवभक्त बाबासहित हजारौँको संख्यामा तीर्थालुको आगमन हुन्छ । यस दिन शिवको दिव्य जन्म अर्थात् अवतरणको दिन भएकाले स्वदेशी तीर्थजनको पनि उत्तिकै उपस्थित रहने गर्छ । यस मन्दिरलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेसँगै छरिएर रहेका विश्वका हिन्दुको आस्था बढेको छ ।

पछिल्लो समय अन्य देशबाट पनि पशुपतिनाथको दर्शनका लागि भक्तजन आउछन् । कोभिड १९का कारण सर्वसाधारणका लागि बन्द भएको मन्दिर शुक्रबारबाट खुलेको छ ।

मुक्तिनाथ
हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिर प्रसिद्ध तीर्थस्थलमध्ये एक हो । हिमाली क्षेत्रमा अवस्थित यो मन्दिर बौद्धमार्गी र हिन्दु दुवै धर्मालम्वीको आस्थाको रुपमा रहेको छ । हिन्दु धर्मावम्बीहरुले यस स्थललाई मुक्तिको क्षेत्र र बौद्धमार्गीले छुमिङ ग्यात्सा नामले चिन्छन् ।
मन्दिरको पछाडि १०८ धारा छन् । र, मन्दिरअगाडि दुई वटा पोखरी (कुण्ड) छन् । धारामा नुहाएर कुण्डमा डुबुल्की मार्दा पाप नास भई मुक्ति मिल्ने किंवदन्ती छ ।

तीर्थस्थलमा बडादशैँ र चैतेदशैँमा मेला लाग्छ । अन्य समयमा पनि भक्तजन मुक्तिनाथको दर्शन गर्न जान्छन् । केही वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथको दर्शन गरेका थिए । जसले यस क्षेत्रको महत्व बढाउँदै धार्मिक पर्यटकीय स्थलको विकासमा पनि टेवा पु¥याएको छ ।

लुम्बिनी

लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो । विश्वमा बौद्ध धर्मालम्बीको विशेष एतिहासिक तीर्थस्थलको रुपमा परिचित छ । जुन नेपालको रुपन्देही जिल्ला पर्छ । सन् १९६७ मा संयुक्त राष्ट्रसंघका महासचिव ऊ थान्तले भ्रमण गरेसँगै आधुनिक लुम्बिनी विकासको सुरुवात भएको हो । यो स्थल बौद्ध धर्मावलम्बीको मुख्य आस्थाको केन्द्र मानिए पनि हिन्दु धर्मावलम्बी पनि लुम्बिनी जान्छन् ।

विश्वका विभिन्न स्थानबाट सिद्धि, शान्ति र मोक्ष प्रप्तिका लुम्बिनी आउने आउने गर्छन् । गौतम बुद्धको जीवनीमा आधारित घटनाक्रम झल्काउने तस्बिर, गुम्बा विहार अवलोकनका लागि पर्यटक लुम्बिनी पुग्ने गर्छन् ।

हलेसी महादेव
खोटाङ जिल्लामा अवस्थित हलेसी महादेव नेपालको प्रसिद्ध हिन्दु एवं बौद्ध तीर्थस्थल हो । यो स्थान हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्र हो । हिन्दु धर्मावलम्बीले हलेसी महादेवलाई पूर्वको पशुपतिको रुपमा लिन्छन् । बाक्लो जंगलले ढाकिएको थुम्कामा ठूलो चट्टानको गुफा रहेको छ । उक्त गुफा नै हलेसी महादेव मन्दिर हो ।

हलेसी महादेवको दर्शन गरेमा मनले चाहेको पूरा हुने, दुःखबाट मुक्ति मिल्ने, खडेरी नपर्ने, पदोन्नति हुने, सन्तान लाभ हुने, रोगबाट मुक्ति मिल्छ भन्ने विश्वास छ ।

स्वयम्भूनाथ 

काठमाडौंको बीचमा अवस्थित स्वयंभूनाथ बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रमध्ये एक हो । स्वयम्भु पुराणअनुसार सदियौँ पहिले उपत्यकामा एउटा तालको रुपमा थियो । जहाँ कमलको फूलको उत्पत्ति भएको र सोही फूल स्वयम्भु महाचैत्यको रुपमा परिणत भएको हो भन्ने किंवदन्ती छ ।

उपत्यकाको पश्चिममा अवस्थित बौद्ध स्तूपालाई महाचैत्य भनिन्छ । धार्मिक एवम् पर्यटकीय रूपमा प्रख्यात स्वयंभूनाथ काठमाडौं उपत्यका अवलोकनका लागि प्रख्यात छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.