पाँच दशकदेखि लालपूर्जाविहीन

कैलाली । भारतीय सीमासँग जोडिएको मोहनपुरका शिवरत्न र हौसलापुरका स्थानिय लालपूर्जाविहीन बनेका छन् । पाँच दशकदेखि भोगचलन गर्दै आइरहेको जग्गाको लालपूर्जा लिन नपाउँदा उनीहरु सरकारी सेवाबाट बञ्चित बन्न पुगेका हुन् ।

कैलारी गाउँपालिकाका मोहनपुर, हौसलापुर र शिवरत्नपूरका करिब दुई सयभन्दा बढी परिवारले जग्गाको लालपूर्जा पाउन सकेका छैनन् । जसका कारण सरकारले प्रदान गर्ने कृषि अनुदान लिन समस्या परेको छ । तीनवटै गाउँबासीसँग आफ्नो जग्गाको लालपूर्जा छैन ।

सरकारले लालपूर्जा नदिँदा आफ्नै जग्गामा पनि सुकुम्बासी जसरी बस्नुपरेको स्थानियको गुनासो छ । उनीहरुले जग्गाको लालपूर्जा प्रदान गरिदिन भन्दै विभिन्न निकायमा हार गुहार नगरेका पनि होइन । तर सरकारी स्तरबाट कुनै सुनुवाइ नभएकोले लालपूर्जा पाउन नसकेको मोहनपुरका विष्णु चौधरी बताउँछन् । लालपूर्जा नहुँदा बैंक, सहकारीलगायतमा जग्गा धितो राखेर कारोबार गर्न नपाएको उनी बताउँछन् । यति मात्र होइन कृषि अनुदानमा समेत सरकारले लालपूर्जा खोज्ने भएकाले अनुदान लिन नसकेको उनको गुनासो छ ।

नेपाली नागरिकको बस्ती नभएको भए उक्त क्षेत्रलाई भारतले लैजाने स्थानिय बताउँछन् । आफ्नो जग्गा भारतबाट जोगाउन सके पनि जग्गाको धनी बन्न भने नेपाल सरकारले रोक लगाएको उनीहरुको आरोप छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.