असोज । जुम्लाका स्थानीयले एक दशक पहिले लागुऔषध ब्राउन सुगरको नाम पनि सुनेका थिएनन् । ब्राउन सुगर के हो ? कस्तो हुन्छ ? यसले के प्रभाव पार्छ ? भन्ने जानकारी पाएका नै थिएनन् । अहिले जुम्लाका नागरिकलाई कसरी आफ्ना बालबच्चा यसबाट जोगाउने भन्ने चिन्ताले पिरोलेको छ ।
एक साताअघि नेपालगंजबाट कर्णाली राजमार्ग हुँदै जुम्लातर्फ मोटरसाइकलमा लागुऔषध ब्राउन सुगर बोकेर आउँदै गरेका दुई जना युवालाई कालीकोट प्रहरीले पक्राउ गरेको थियो । लु७३प ८३०५ नम्बरको पल्सर मोटरसाइकलमा सवार गरिरहेका जुम्ला पातारासी गाउँपालिका-६ बस्ने २८ वर्षीय रामबहादुर बुढा, चन्दनाथ नगरपालिका- ६ बस्ने २४ वर्षीय सनिर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
जुम्ला सडक संजालमा जोडिएपछि लागुऔषध भित्रिन थालेको छ । सडक जोडिएपछि ब्राउन सुगर बजारदेखि गाउँ र टोलसम्म पुगेको अवस्था छ ।
सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्ला, मुगु कर्णाली राजमार्गको २०६२ सालमा ट्र्याक खुलेको हो । त्यसयतादेखि ब्राउन सुगर भित्रिन थालेको प्रहरीको भनाइ छ । कर्णाली राजमार्ग खुल्नुअघि यहाँको एक मात्र यातायातको साधन भनेको हवाईजहाज थियो । हवाईजहाजबाट यो लागुऔषध एक पटक भित्रिएको थियो । त्यसपछि हवाईजहाजबाट लागुऔषध जुम्लामा भित्रिएको पाइँदैन ।
अहिले सडक मार्ग खुलेपछि लागुऔषध भित्रिएको प्रहरी नायव उपरीक्षक दानबहादुर थापा बताउँछन् । यसअघि जुम्लामा स्थानीयस्तरमै उत्पादन हुने भागो (गाँजा) र चरेस नसाको रूपमा प्रयोग गर्ने गरेको स्थानीय बताउँछन् । तर, त्यसले ठूलो रूप लिएको थिएन । लुकिछिपी प्रयोगमा आउने गरे पनि कानुनी रूपमा बन्देज नै गरिएको थियो ।
अहिले ब्राउन सुगरले युवा पुस्तालाई बिगार्न थालेको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने, 'यो नशामा युवा पुस्ता नराम्रोसँग फसेको छ । प्रहरीले जति निगरानी बढाए पनि बाहिरबाट जुम्ला भित्रिन छाडेको छैन ।' ब्राउन सुगरको प्रभाव र असरका विषयमा विद्यालयस्तरमै सचेतना जगाउन आवश्यक रहेको उनको भनाइ छ ।
तीन वर्षको अवधिमा ४७ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय जुम्लाको तीन वर्षको तथ्यांक हेर्ने हो भने लागुऔषधको सेवन र कारोबारमा आर्थिक वर्ष २०७५/०७६ मा पाँचवटा मुद्दामा १६ जना पक्राउ परी कारवाही गरिएको छ । यस्तै, आर्थिक वर्ष २०७६/२०७७ मा छवटा मुद्दामा नौ जना पक्राउ गरेका थिए भने २०७७/०७८ मा पाँचवटा मुद्दामा २० जना पक्राउ गरी कारवाही गरेको प्रहरी तथ्यांक छ ।
आर्थिक वर्ष २०७८/०७९ को दुई महिना साउन र भदौमा एउटा मुद्दामा दुई जना पक्राउ परेका प्रहरी निरीक्षक युवन चौधरीले बताए । तीन वर्षको अवधिमा प्रहरीले लागुऔषध ब्राउन सुगरसम्बन्धी १७ वटा मुद्दा दर्ता गरी ४७ जना पक्राउ गरी कारवाही गरेको छ । ब्राउन सुगर रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रहरीले सक्रियता बढाएको उनले बताए । उनले यस विषयमा विद्यालयस्तरमा सचेतना कार्यक्रम पनि संचालन गर्ने गरेको जानकारी दिए ।