दशैं यात्रा : नयाँबसपार्कमा छैन चहलपहल

काठमाडौं । सरकारले दसैँका लागि असोज ११ गतेबाट अग्रिम टिकट बुकिङ खोल्दै छ । तर, काठमाडौंको नयाँ बसपार्कमा विगतका वर्ष झैँ चहलपहल छैन ।

बसपार्क टिकट काउन्टरका कर्मचारी दसैँको पूर्वसन्ध्यामा विगतका नर्मल वर्षमा भन्दा ९८ प्रतिशत कम मानिस आएको बताउँछन् ।

‘कोभिड १९ अघि बसपार्कमा लाग्ने गरेको भीडको दुई प्रतिशत पनि छैन,’ उनले भने, ‘यो वर्ष काठमाडौंबाट बाहिरिने यात्रुभन्दा भित्रिनेको संख्या बढी छ ।’

कोरोनाका कारण गाउँ बसेकाहरु काठमाडौं भित्रिने क्रम जारी रहेकाले यो वर्ष काठमाडौंबाट घर जाने कम रहेको बताउँदै उनले गाउँ बसहरु खाली जाने गरेको बताए । उनले भने, ‘घर फर्किनेहरुको संख्या कम हुँदा हाम्रो व्यवसाय नै धराप छ ।’

बिहीबार गृहमन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीबीच भएको बैठकको सहमतिअनरुप दशैंलक्षित अग्रिम टिकट बुकिङ यही ११ गतेबाट खुल्दै छ । बैठकले व्यवसायीलाई २८ प्रतिशत भाडा बढाउन अनुमति दिएको छ ।

भाडा बढ्दा मारमा परेका छौँ: यात्री

सुर्खेतका अशोक केसी चाडबाडको मुखमा सरकारले भाडा बढाउँदा आफूहरु समस्यामा परेको बताउँछन् । 

‘सरकारले भाडा बढाउँदा हामी विद्यार्थीलाई समस्या परेको छ,’ उनी भन्छन्, ‘पहिले १२ सयमा घर पुग्थे । । अहिले भाडामात्रै १७/१८ सय लग्ने भयो । मुस्किलले डिस्काउन्ट गरेर १४/१५ सयको टिकट काट्नुपरेको परेको छ ।’  असोक केसी मात्रै नभई बसपार्कमा आउने अन्य यात्रु पनि भाडाको विषयलाई लिएर यस्तै गुनासो गर्छन् ।

हाम्रो व्यवसाय धारापमा छ: व्यवसायी

टिकट काउन्टरका कर्मचारी विवस गुरुङ यो वर्ष घर जानेको संख्या न्यून भएको बताउँछन् ।

‘कोभिडअघि स्याङ्जा, लमजुङ, पोखरा जान दैनिक दुई हजारको हाराहमारीमा टिकाट काट्ने गर्थेँ,’ उनले भने, ‘अहिले यात्रुको संख्या न्यून छ ।’ अहिले दिनमा मुस्किलले २ सयको हाराहारीले मात्र यात्राका लागि टिकट काट्ने गरेको गुरुङ बताउँछन् ।’ 

अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था भए पनि धेरैजसो मानिस काउन्टरमै आएर टिकट काट्ने उनको भनाइ छ । दसैँका लागि अग्रिम बुकिङ खुले भौतिक रुपमा भन्दा अनलाइबाट टिकट लिनेको संख्यामा धेरै हुनसक्ने उनको आँकलन छ ।

त्यसैगरी, लोत्से बहुउदेश्यीय प्रालिका एचआर म्यानेजर पंकज मगरले कोभिड १९ अघि नयाँ बसपार्कबाट दैनिक चार सयभन्दा बढी गाडी काठमाडौं बाहिरिने गरेकोमा कोरोनापछि मुस्किलले एक सय ६५ गाडी बाहिरिने गरेको बताए ।

यात्रुको संख्या एकदमै कम भएको साथै बाटोको अवस्था राम्रो नभएकाले पनि मानिस यात्रा गर्न डराउने गरेको उनी बताउँछन् । ‘एउटा बसका लागि बसपार्कबाट १५ जनाले मात्रै टिकट काट्ने, र, बाँकी सिटका लागि अन्य स्थानबाट टिकट काट्ने व्यवस्था मिलाएकाले नयाँ बसपार्कमा भीडभाड कम भएको हो,’ उनले भने, ‘हाल काठमाडौंबाट बाहिरिने मानिसको संख्या दैनिक तीन हजारको हाराहारी छ ।’

नयाँ बसपार्कबाट देशको ७० जिल्लाका लागि बस छुट्ने गरेको बताउँदै मगर फुर्सद भएकाहरु चाडबाडको भीडभाडमा भन्दा अहिले नै घर जाँदा राम्रो हुने बताउँछन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.