कञ्चनपुर। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कञ्चनपुर जिल्लाका नौ वटै स्थानीय तहको नगर अधिवेशन सम्पन्न भएको छ ।शुक्लाफाँटा नगरसमितिको सभापतिमा दानसिंह ऐरसहितका सबै पदाधिकारी सहमतिका आधारमा चयन भएका हुन् ।
त्यस्तै भीमदत्त नगरको सभापतिमा अच्युतराज कलौनी निर्वाचित भएका छन् । कलौनी निकटतम प्रतिद्वन्द्वी आशिष खत्रीलाई १२३ मतको अन्तरले हराउँदै नगर सभापतिमा निर्वाचित भए ।
उता बेदकोट नगरपालिकाको सभापतिमा तुलाराम साहु विजयी भएका छन् । साहुले निकटतम प्रतिद्धन्द्धी पुष्पराज भट्टलाई सात मतको अन्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्। शाहुले ७८ र भट्टले ७१ मत ल्याएका थिए ।
यता कृष्णपुर नगरसमितिको सभापतिमा विष्णु खड्का निर्विरोध चयन भएका छन् । कांग्रेसको १४औँ नगर सभापतिमा खड्का एक्लैको उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।
त्यस्तै लालझाडीको गाउँपालिकाको सभापतिमा श्रीकृष्ण राना निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी राजेश राना दोब्बर मत अन्तरले पराजित भए। निर्वाचित रानाले ६३ र राजेशले २७ मत ल्याएका थिए ।
यता बेलडाँडी गाउँपालिकाको सभापतिमा गजबहादुर विष्ट विजयी भएका छन् । निर्वाचनमा खसेको ८५ मतमध्ये गजबहादुरले ४५ मत पाएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी पृतबहादुर विष्ट रहेका थिए ।
यता बेलौरी नगरपालिका सभापतिमा पेपुराम चौधरी निर्वाचित भएका छन् । चौधरी ९० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी विक्रम चन्दले ८० मत प्राप्त गरेका थिए ।
त्यस्तै पुनर्वास नगर कार्यसमितिको सभापतिमा शुकबहादुर तामाङ विजयी भएका छन् । तामाङ निकटम प्रतिद्वन्दी दिलबहादुर बोहरालाई १० मतलेपछि पार्दै विजयी भएका हुन् । त्यस्तै दोधारा चाँदनी नगरसभापतिमा राजेन्द्र मल्ल सर्वसम्मत रुपमा चयन भएका छन् ।