सप्तरीको भारदहमा बस दुर्घटनाः एकको मृत्यु, ११ जना घाइते 

सप्तरी  । सप्तरी जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका १ भारदह स्थित कंकालनी मन्दिर नजिकै आज बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

दुर्घटनामा परि नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ५५ वर्षीया महिलाको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय राजविराजका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छ्न्।

पुर्व तर्फबाट पश्चिमतिर आइरहेको ना.५ ख १८९८ नम्बरको कान्तिपुर यातायातको बस अनियंत्रित भइ सडकभन्दा २० फिट तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा परेर ११ जना घाइते भएका छ्न्।

घाइते हुनेमा सह-चालक झापाको मेची नगरपालिकाका ३८ वर्षीय पदम बहादुर राई, सप्तरीको कञ्चनरुप नगरपालिका–२ की २० वर्षीया अस्मिना खातुन, वडा नम्बर–३ का १८ वर्षीय आलोककुमार सेख, वडा नम्बर– ८ का १७ वर्षीय बिबेक कुमार साह छन् ।

यसैगरी सुनसरीको ईनरुवा नगरपालिका–१ की ३० वर्षीया रिङ्कु कुमारी यादव, ३३ वर्षीय रबिन खड्गा, सुनसरीको बराह क्षेत्र नगरपालिका–५ का १८ वर्षीय निर्मल दाहाल, उदयपुरको चौदण्डिगढी नगरपालिका–६ का ४० वर्षीय सिताराम रसाईली, मोरङको बिराटनगर उप महा नगरपालिका–१३ की ३३ वर्षीय प्रमिला राई घाइते भएका छन् ।

घाइतेहरुको भारदहस्थित जिल्ला अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

घाइतेमध्ये उदयपुरको कटारी नगरपालिका–३ का ७० वर्षीय मानबहादुर तामाङ र निजकी श्रीमती ६९ वर्षीया बिष्णुकुमारी तामाङको अवस्था गम्भिर भएकाले विराटनगर रेफर गरिएको छ ।

बस चालक फरार भएको र खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.