पिन्टु यादव, सप्तरी । जनप्रतिनिधिको पुर्वाग्राही मनसायले गर्दा बोदे बर्साइन नगरपालिकाको खडकपुरमा दुईपक्ष बीच झडप भएको छ । झडपमा परि एकजनाको हात भाँचिएको छ। वडा अध्यक्षले भने हात कसले भाँचेको हो भन्नेमा अनिभिज्ञता प्रकट गरेका छन् ।
जनप्रतिनिधि आफ्नो क्षेत्रमा रहेका आम नागरिकको प्रतिनिधि हो भन्नेमा कुनै दुविधा छैन । चुनावी पुर्वाग्रह राख्ने जनप्रतिनिधि समाजका लागि घातक साबित हुन्छ । त्यस खालको मानसिकताले समाजिक सद्भावमा खलल पुर्याउने काम गर्छ । बिकास र सुशासनको कुरा परै जाओस् , त्यस्ता जनप्रतिनिधिले समाजलाई अस्थिर बनाउँछन् । द्वन्द्व निम्त्याउँछन् र अशोभनीय घटना निम्त्याउँछन् ।
यस्तै प्रवृतिको घटना घटाउने जनप्रतिनिधि सप्तरीमा फेला परेको छन्। जिल्लाको बोदे बर्साइन नगरपालिका १० का वडा अध्यक्ष सुमित यादव पुर्वाग्राही सोचले ग्रसित छ्न्। सेवाग्राही जनतालाई उनले आफुलाई मत दिएको वा नदिएको आधारमा व्यवहार र प्रतिशोध साध्ने कार्य गर्ने गरेका छन्। उनले सो वडा बस्ने शिवकुमार दासलाई आफ्ना समर्थकबाट साङ्घातिक हमला गर्न लगाए । चोटपटकले दासको हातको हड्डी भाँचिएको छ। छिन्नमस्तामा उपचार गराएको दासको हातमा के वायर(स्टिल)लागेको छ।
यो असार ११ गते शनिबार राती ११ बजेको घटना हो । श्री राष्ट्रिय आधारभूत बिद्यालय खडकपुरको बिधालय व्यवस्था समितिको अध्यक्ष रामउमेश दासको घरमा भोज थियो । भोजको आमन्त्रणमा वडा अध्यक्ष , पीडित शिवकुमार दास ,वडा अध्यक्षको समर्थक अर्जुन दास र श्रवण दास लगायतका आमन्त्रितहरु भोज खान पुगे । भोज खानेबेला शिवकुमारले वडा अध्यक्षलाई एउटा खानेपानी ट्युबवेल उपलब्ध गराइदिन आग्रह गरे। शिवकुमारले भने रक्सी खाएका थिए । अध्यक्षसंग आवेश देखाएर ट्युबवेल मागेको निश्चयमा उनीहरु पुगे । त्यहीँ स्थित भनाभन शुरु भयो । अर्जुनले शिवकुमारलाई किन गाली गरेको भनेर थर्काए ।त्यस्पछि लछारपछार शुरु भयो । अन्ततः शिवकुमारलाई अर्जुन र श्रवणले लाठीले प्रहार गरे ।लाठीको चोटले आफ्नो हात भाँचिएको आरोप शिवकुमारले लगाएका छ्न्।
हात भाँचिएपनि वडा अध्यक्षका समर्थकहरु भने सन्तुष्ट भएनन् । वडा अध्यक्ष यादवले नजिकैको प्रहरी चौकीमा फोन गरे। चौकीका प्रहरीले पनि वास्तविकता नबुझी हात भाँचिएको अवस्थामा शिवकुमारलाई चौकीमा केही बेर नियन्त्रणमा राख्यो ।
पीडित शिवकुमारले वडा अध्यक्षको निर्देशनमा आफुलाई अर्जुन दास र श्रवण दासले हात भाँचेको आरोप लगाएको छन् भने वडा अध्यक्ष यादव भने आफुलाई यस घटना बारे केही थाहा नभएको बताउछन् । अध्यक्ष यादवले झगडा हुनेबेला आफू घटनास्थलमा नरहेको र कसले हात भाँचेको हो भनेर आफुलाइ थाहा नभएको बताए ।