सप्तरी । जिल्लाको अग्नि साइर कृष्ण संवरण गाउँपालिका ६ नम्बर वडा स्थित महुली खोलाको पुर्वतर्फबाट बकधुवा जाने ६ मिटर फराकिलो बाटो छ । दुई वर्ष पहिले सो बाटोमा माटो ग्राभेलको काम सम्पन्न भएको थियो । मधेस प्रदेशसभा सदस्य सत्यनारायण मंडलको संसदीय कोषको बजेटले सडकको दुबै पट्टी ३ सय मिटर नाला निर्माण भएको थियो । संगै माटो ग्राभेलको ३ सय मिटर काम सम्पन्न भएको थियो । उक्त बाटोमा दुई वटा आर्थिक वर्षको बजेट लगाइएको थियो ।
हाल सो बाटो खाल्डोरहित राम्रो अवस्थामा थियो तर विडम्बना दुई वर्ष नबित्दै सो बाटोमा फेरि बजेट लगाएर माटो ग्राभेलिङ गरिरहेको छ। बजेट पचाउन उक्त सडकमा पुनः एक करोडको लागतमा प्रदेश सरकारको सशर्त अनुदानबाट माटो ग्राभेलको काम गर्न सडक खनिएको छ।सो कार्यको स्थानीयले बिरोध जनाएका छ्न् । स्थानीयको बुझाईमा बजेटको दुरुपयोग गरिएको हो। स्थानीयहरुले बनिसकेको बाटोमा पुनः बजेट खर्चिनुले अनियमितताको आशय रहेको बताउछन् ।
मधेस प्रदेश सभा सदस्य सत्यनारायण मंडलको संसदीय कोषबाट आर्थिक वर्ष २०७५/०७६ मा ४० लाख रुपैयाँ र अर्को आर्थिक वर्ष २०७६/०७७ मा २० लाख गरि जम्मा ६० लाखमा ३ सय मिटरको नाला र माटो ग्राभेलिङ भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा उक्त सडकमा पुनः बजेट खर्च गर्ने भएको छ। स्थानीय बच्चु मियाँ रहेको उपभोक्ता समिति अध्यक्षले सो निर्माणको कार्य शुरु गरेको छ। प्रदेश सरकारको सशर्त अनुदानमा पुनः बनिरहेको सो बाटो बनाउने हाल कुनै औचित्य थिएन । अर्कै ठाउँमा बजेट माग गरेको भए सदुपयोग हुन्थ्यो ।
अर्को रोचक कुरा के छ भने आयोजना सञ्चालन गर्नुपुर्व होर्डिङ बोर्ड राख्नुपर्ने अनिवार्य शर्त रहेको समितिले बोर्ड राखेको देखिदैन ।अचेल बजेट सिध्याउन असारे विकासमा जनप्रतिनिधि समेतले चासो देखाएका छ्न्। जेसिबी लगाएर सडक खनिएको छ। खनिएको सडकमा छिटपुट माटो हालेको छ। सडकबाट लाभ लिने स्थानीय लाभग्राहीको भनाइमा एक लाख समेतको माटो हालिएको छैन । यसरी आर्थिक वर्षको अन्तमा योजना कार्यान्वयन गर्नु अनियमितताको पराकाष्ठा हो। त्यसमा पनि राम्रो अवस्थाको ग्राभेलिङ्ग रहेको बाटो खनेर पुनः बजेट खर्च गर्नु भ्रष्टाचारकै उदेश्य देखिन्छ ।
सो पलिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीले बाटो राम्रो अवस्थामा नभएर योजना तोकिएको बताएका छ्न। आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारको सशर्त तर्फको योजना बमोजिम अब फेरि ३ सय मिटर माटो ग्राभेलिङ् हुँदै छ।
उपभोक्ता समितिका अध्यक्ष बच्चु मियाँको अनुसार पहिला ग्राभेलिङ मोटो नभएर अहिले पुनः ग्राभेलिङ गर्नुपरेको हो। आयोजनाको होर्डिङ बोर्ड केहो स्वयं समितिको अध्यक्षलाई थाहा छैन । सो उपभोक्ता समितिको अध्यक्षलाई समेत डिजाइन र इस्टिमेट बारे केही थाहा छैन । साइट इन्जिनियरले सबै सूचना गोप्य राखेको हुनुपर्छ । अध्यक्ष संग कुराकानी गर्दा उनले साइट इन्जिनियरलाई सबै थाहा भएको बताए ।
यसैगरी स्थानीय दुर्गा भट्टराईको भनाइमा अघिको योजनाबाट निर्माण भएको सो सडकमा १० प्रतिशत पनि ग्राभेल हालेको थिएन । उक्त कार्य गरेको उपभोक्ता समितिले रकम हिनामिना गरि कमसल ढल निर्माण गरेको थियो। जुन अहिले चिराचिरा भएको छ। कुल ६० लाखमा खर्च गरेर निर्माण हुने नाला र ग्राभेलमा आंशिक खर्च भएको थियो ।राजनीतिक प्रतिशोध र पुर्वाग्रहबाट अहिलेको योजनाको बिरोध गरिरहेको छ।जबकि गाउँपालिका अध्यक्षले स्थलगत निरीक्षण गरि पुनः बाटो बनाउनुपर्ने निष्कर्ष निकाले ।त्यही निष्कर्षको आधारमा पालिका अध्यक्षले प्रदेश संग बजेट माग गरेको बताए ।
यसरी नै सप्तरीमा योजनाहरु सम्पन्न हुन्छ । असार मसान्तसम्म योजना कार्यान्वयन गरेर लाखौं रकम अनियमितता गरिन्छ । एक हप्ता भित्रे काम सकाएर लाखौं रकम हिनामिना गर्ने उदेश्य राखिन्छ। स्थानीय जनप्रतिनिधि देखी प्राविधिक टोलि समेतले कमिसनको खेलमा असारे बिकासमा तम्तयार रहन्छ ।
उक्त बाटोमा जुन किसिमले अनियमितता गर्ने आशयले पुनः सडक ग्राभेलिङ गरिरहेको छ। त्यो सरासर बजेटको दुरुपयोग हो कि होइन ? आम नागरिकले ३ सय मिटर बाटोमा एक करोड लागतमा मात्र ७ इन्च मोटो ग्राभेलिङ हिनामिना नै सहजै बुझ्न सकिन्छ ।