कालोधनलाई सेतो बनाउने प्रावधान फिर्ता लिइयोस् : एमाले सांसद गुरुङ

काठमाडौं । सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा राखिएको कालोधनलाई सेतो बनाउने प्रावधान फिर्ता लिन माग गरेका छन् । 

सोमबार राष्ट्रियसभाको बैठक अवरोध गर्नुअघि गुरुङले तत्काल सो विधेयक खारेज गर्न सरकारसँग माग गरेका हुन् । 

केही दिनदेखि नेकपा एमालेले संघीय संसद चल्न दिएको छैन । सभामुखले आफ्नो दल नेकपा एमाले फुटाउन सहयोग गरेको आरोप लगाउँदै विपक्षी दल नेकपा एमालेले दुवै संसद् अवरोध गर्दै आएको छ ।

सोही क्रममा सोमबार प्रमुख प्रतिपक्षीले संसदमा अवरोध गर्‍यो । संसद अवरोधकै क्रममा सांसद प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै एमाले सांसदको आपत्ति जनाएको छ । 

प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी, लेखापरीक्षक, लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्थकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो तीन वर्षको आयकर आगामी फागुन मसान्तभित्र बुझाएमा सोभन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

सांसद गुरुङले सत्तापक्षले संसद्लाई सहज ढंगले अघि बढाउन पहल नगरेकाले आफूहरूले अवरोध गरिरहनुपरेको जिकिर गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.