पद वा सही ठाउँ पाएर मात्र हुँदैन । त्यो पद र ठाउँलाई वजनदार तरिकाले प्रस्तुत गरेर वा काम गरेर देखाउन सकियो भने सबैको वाहवाही पाइन्छ । कतिले पद र ठाउँ पाए पनि चाल पाउन र पदको गरिमा बढाउन सकेनन् ।
कुरा वा प्रसंग गैरआवासीय नेपाली संघसँग आबद्ध उम्मेदवारको हो । आफूले पाएको र विश्वास गरेर मतदाताले जिताएको ओशिनिया रिजनल कोर्डिनेटर पदमा बहाल हुँदा धर्मराज अधिकारीले गरेका कार्य आज पनि गैरआवासीय नेपालीमाझ चर्चा र बहस हुने गरेको छ ।
त्यस समयमा नेपालमा डायस्पोराबाट गैरआवासीय नेपालीलाई निमन्त्रणा गरेर अधिकारीले गरेको कार्य र पदकै गरिमा उच्च हुने गरी निभाएको सक्रियता साच्चै उदाहरणीय थियो।
त्यतिबेला भनिएको थियो: ‘संघ-सस्थामा कि नलाग्नु, लागेपछि मनदेखि लाग्नु । जसरी धर्मराज अधिकारी लागेका छन् ।’
वास्तवमा मनदेखि गैरआवासीय नेपाली संघ भनेर लागि परेका सामाजिक अभियन्ता हुन् धर्मराज अधिकारी । संघप्रति दत्तचित्त भएर लागि पर्ने यिनै अधिकारी अब गैरआवासीय नेपाली संघको सन् २०२१-२०२३ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन् ।
विगतका कार्यशैली र सस्थाप्रतिको ज़िम्मेवारीलाई इमानदारिताका साथ निभाउने व्यक्तिका रुपमा चिनिएका अधिकारीको यो उम्मेदवारीलाई गैरआवासीय नेपालीले सकारात्मक रूपमा लिएको पाइएको छ । धर्मजीजस्तो व्यक्ति संस्थालाई चाहिन्छ र यस्ता व्यक्ति संघमा आउनुपर्छ भन्ने धारणा गैरआवासीय नेपालीको छ ।
गैरआवासीय नेपाली संघमा २०२१-२०२३ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका अधिकारीले अब गैरआवासीय नेपालीमाझ विविध कार्ययोजना, भावी निति तय गर्ने कार्यक्रमका साथ अगाडि बढ्ने कुरा बताएका छन् ।