मन्त्री यादवलाई बोदे बरसाइन नगरपालिकाले आयोजना गरेको कार्यक्रममा एक सय एक किलोको मालाले स्वागत
राजविराज । सप्तरीमा धान रोपाइँ २० प्रतिशत बाँकी रहेको छ। रोपाइँ भइसकेका बालीमा हाल्नलाई रासायनिक मल सहजै उपलब्ध छैन । जनताको रासायनिक मलको समस्यालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता गरेकाे जनता समाजवादी पार्टीको तर्फबाट कृषि तथा पशुपन्छी बिकास मन्त्री बनेका मृगेन्द्र कुमार सिंह यादव भने स्वागत समारोह कार्यक्रमा व्यस्त छन्।
हिजो शुक्रबार मन्त्री यादव गृह नगर बोदे बर्साइन नगरपालिकामा भएको स्वागत समारोह कार्यक्रममा उपस्थित भएका थिए । बोदे बर्साइन नगरपालिकाले आयोजना गरेको समारोहमा उनलाई एक सय एक किलोको माला लगाएर स्वागत गरिएकाे थियो ।
नगरपालिकाले सो कार्यक्रममा निकै नै लगानी गरेको देखिन्छ । नगरपालिका प्रमुख आतेश कुमार सिंहले कार्यक्रमको अध्यक्षता गरेका थिए । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न मन्त्री यादवको स्वागतमा ठाउँठाउँमा गेट निर्माण गरिएकाे थियो। प्राप्त जानकारी अनुसार मन्त्रीको अगुवा जान नगरपालिकाले १ सय मोटरसाइकल १ सय स्कारप्यो र अन्य सवारी साधन लगायत ५ हजार सङ्ख्यामा पार्टी नेताकार्यकर्ताको सहभागीमा स्वागत र्याली निकालेको थियो ।
मन्त्री यादवले अविलम्ब किसानको समस्या सम्बोधन गर्नुको साटो सान बढाउने तिर लागेको देखिन्छ । रासायनिक मलको उपलब्धतामा ह्रास देखिएको बेला कृषि मन्त्रीले त्यस तर्फ बढी ध्यान दिनुपर्थ्यो। कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गरि निर्यातमुखी कृषि उत्पादन गर्ने तर्फ बढी कार्यक्रम गर्नुपर्थ्यो। तर विडम्बना किसानका लागि काम गर्ने मन्त्री शान ,मान बढाउने तर्फ चासो दिएको देखियो ।