काठमाडौं । क्याप्टेन एजी शेर्पाले बिहान बुद्ध एयरको ९ एनएएनटी नम्बरको यएरप्लेन विराटनगरका लागि उडाए ।
७३ जना यात्रु रहेको सो विमान निर्धारित समयमै विराटनगर विमानस्थलमा पुग्यो । तर, अवतरण हुन सकेन । क्याप्टेन शेर्पाले अवतरणको लागि धेरै प्रयास गरे, संभव भएन । ल्याण्डिङ गेयरमा नखुल्दा अवतरणमा समस्या भएको भन्दै जहाज तुरुन्तै काठमाडौं फर्कियो ।
काठमाडौं फर्किउन्जेल यात्रु ढुक्कै थिए । तर, काठमाडौं त्रिभुवन विमानस्थलमा पटक–पटक अवतरण गराउन खोज्दा विमान अवतरण नभएपछि यात्रुको मनमा चिसो पस्यो । कोही आत्तिए त कोही रुन र कराउन थाले । कोही ढोका खोलिदिन अनुरोध गरिरहेका थिए ।
यात्रुहरुबाट यस किसिमका क्रियाकलाप आएपछि एयरहोस्टेसले सम्झाउने प्रयास गरे । तर, उनीहरु आफैँ ‘नर्भस’ थिए । यतिञ्जेलसम्म विमानले लगभग त्रिभुवन विमानस्थलमाथि लगभग १० राउन्ड लगाइसकेको थियो ।
विमानस्थलमा सम्भावित दुर्घटनाको खतरा बुझेर नेपाल प्रहरी, नेपाल सैनिक, नागरिक उडड्डयन प्राधिकरण, अग्नि नियन्त्रक टोली सुरक्षित अवतरणका लागि तयारी अवस्थामा रहेका थिए । जब यात्रुले सुरक्षाकर्मी पोजिसनमा देखे तब झन् नर्भस भए ।
जहाजलाई बैकल्पिक तरिकाले ल्याण्ड गर्ने तयारी भयो । धावन मार्गमा पानी छर्केर फम बिछ्याउने र फम माथी आकस्मिक ल्याण्डिङ गर्ने अन्तिम तयारी चल्दा जहाजको एकासी सुरक्षित अवतरण भयो । जहाजभित्र छटपटाइरहेका यात्रुहरु एक मनले रोइरहेका थिए, अर्को मनले ज्यान जोगिएझै खुशी देखिन्थ्यो ।
यात्रुहरु बाहिर आइसकेपछि पशुपति नाथ र क्याप्टेनले बचाएको भन्दै क्याप्टेनलाई धन्यवाद दिन थाले ।
घटनाको दोषी को ?
यो समस्या पहिलो भने हैन । नेपाली जहाजहरुमा साना तिना प्राविधिक समस्याहरु आइरहन्छन् । यी समस्या समाधानतिर एयरलाईन्स कम्पनिहरु लागेको देखिदैन । सबै उडिरहेको जहाजहरुलाई नियमित परिक्षण गर्ने र सर्भिसिङ गर्ने कामहरु एयरलाईन्स कम्पनिहरुबाट हुनुपर्ने भएपनि नियमित भइरहेको हुदैन । बुद्ध एयरको समस्या त्यसकै निरन्तरता हो । जसको कारण प्राविधिक रुपमा समस्याहरु उत्पन्न भइरहेको हुन्छ ।
कोरोना कहरमा महिनौ दिन सम्म बन्द भएका जहाजहरु पुनः संचालनमा आएसँग त्यसको नियमित परिक्षण र सर्भिसिङ हुन नसक्दा यस्ता समस्याहरु उत्पन्न हुने त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलका सुरक्षा प्रबन्ध निर्देशकले बताए । आजको समस्या पनि सोही समस्याहरुको निरन्तरता हो । यसले ठूलो घटना भने निम्त्याएन, उनले भने ।