सडकमार्गबाट नेपाल भित्रिनेलाई कोरोना परीक्षण अनिवार्य : स्वास्थ्य मन्त्रालय

काठमाडौं ।सडकमार्ग हुँदै नेपाल भित्रिने हरेकको कोरोना परीक्षण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सिमानाका हुँदै नेपाल प्रवेश गर्ने हरेकले अनिवार्य रुपमा कोरोना परीक्षण गर्नु पर्नेछ ।

चाडपर्वको समयमा भारत तथा चीनबाट सिमानाका हुँदै नेपाल भित्रिनेको कोरोना परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए। ‘नेपालमा कोरोनाको नयाँ भेरियन्ट नदेखिए पनि संक्रमणको जोखिम कायमै भएकाले स्वास्थ्य मापदण्ड अपनाउन जरुरी छ’ पौडेलले भने, ‘चाडबाडको समयमा टेस्टिङलाई थप व्यवस्थित बनाउन थप जनशक्ति परिचालन गर्दौछौं ।’

उपत्यकाबाट घर जानेहरूका लागि लक्षित टिकट बुकिङ सोमबारदेखि खुला गरिएकोले उपत्यका छाडेर घर जानेहरूले पनि सतर्कता अपनाउन आवश्यक रहेको मन्त्रालयले जोड दिएको छ । पौडेल भन्छन्, ‘एक स्थानबाट अर्को स्थानमा जाँदा अनिवार्य रुपमा सुरक्षा मापदण्ड पालना गरी संक्रमण बढी भएको ठाउँबाट जाँदा आवश्यकताअनुसार क्वारेन्टिनमा बस्नुहोला ।’

सिमानाकामै खोप

भारतबाट नेपाल आउने सबै व्यक्तिको सीमानाकामै एन्टिजेन्ट टेष्ट गर्ने तथा खोप नलगाई आएकालाई त्यही खोप लगाइदिएर सुरक्षित रूपमा गाउँ पठाउने अभियान चलाइने छ। पौडेलका अनुसारयसका लागि मन्त्रालयले खोप छुट्टाइसकेको छ । पुरानो मौज्दात १५ देखि १७ लाख मात्रा र हालै चीनबाट ल्याएको खोप पनि भएकाले भारतमा खोप नलगाई फर्किएका नेपालीलाई सिमानाकामै खोप लगाएर सुरक्षित रुपमा भित्र्याउने मन्त्रालयको योजना रहेको छ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सीमानामै एन्टिजेन्ट टेष्ट गरि भ्याक्सिन नलगाइ नेपाल आउनेलाई सिमामै खोप लगाइदिएर सुरक्षित रुपमा गाउँ पठाउने अभियान शुरु गरिने बताएका छन् । यसका लागि स्थानीय सरकारसँग समन्वय गरी परीक्षणलाई तिव्रता दिएको श्रेष्ठको भनाइ छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.