सरकारले मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा गरे आश्चर्य हुन्नः प्रमुख आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्रिपरिषद बैठकले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा भए आश्चर्य नहुने बताएका छन् ।

स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

‘आयोगले सम्पूर्ण व्यहोरासहित एकैचरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मंसिर ४ गते गर्न मिति सिफारिस गरिसकेको छ । अब मन्त्रिपरिषद्ले मिति तोक्न बाँकी हो । आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्यो भने त्यसलाई आश्चर्य नमान्दा हुन्छ,’ उनले भने ।

आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मितिबारे सरकारलाई परामर्श दिइसकेको थपलियाले बताए । उनले निर्वाचनको तयारीका सबै काम सुरु भइसकेको समेत बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ र प्रदेशको निर्वाचन स्थानीय तह निर्वाचनभन्दा कम खर्चिलो हुन सक्ने बताएका छन् । प्रमुख आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा आयोगले विगतभन्दा निकै ठूलो रकममा खर्च कटौती गरेकोसमेत बताएका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.