उर्मिला भट्टराई
सिन्धुली । सिन्धुलीको ग्रामीण भेगमा विकासका लागि विस्तार भएको सडकले नै विनास निम्त्याएको छ । गाउँगाउँमा मोटरबाटो विस्तार गरिने उद्देश्यले खनिएका सडकका कारण सयौँ घर र विद्यालय नै पहिरोको जोखिममा परेका छन् ।
गाउँमा विकास पुर्याउन जथाभावी खोलिएका सडकले विनास निम्त्याएको स्थानीयले गुनासो गरेका छन् । फराकिलो बनाउन चकमके-आम्बोटे-जिनाखु सडक खण्ड खोलिएसँगै सडकमाथिको तीनपाटन गाउँपालिका- ९ मा रहेको विद्यालय आम्बोटे माविको भवन नै पहिरोको जोखिममा परेको विद्यालयका प्रधानाध्यापक जितेन्द्रकुमार महासेठले बताए ।
सडक खोलिएसँगै जोखिममा रहेको विद्यालयको चार कोठे पक्की भवन नजिकको भाग हाल वर्षाले भासिएको उनले जानकारी दिए । उनका अनुसार विद्यालयको पक्की भवनमा विद्यार्थी राखी पढाउन नमिल्ने भएको छ । ‘भवन नजिकको भाग भासिएको छ’, प्रअ महासेठले भने, ‘कुन बेला भवन नै खस्ने हो, थाहा छैन । यस्तो जोखिममा विद्यार्थी राखेर पढाउन सक्दैनौँ ।’
उक्त भवनमा पढाइ हुने कक्षा १, २ र ३ का विद्यार्थीलाई अरू नै स्थानमा व्यवस्थापन गरेर पढाउने उनको भनाइ छ । तीनपाटन गाउँपालिका- ८ बाहुनतिल्पुङमा पनि ग्रामीण सडक खण्ड स्तरोन्नति गर्ने नाममा जथाभावी बाटो खनिएसँगै सडकमाथिका तीन घरपरिवार पहिरोको जोखिममा परेका स्थानीय बरुण घिमिरेले बताए ।
हरेक वर्ष एउटै सडकमा विकासको नाममा डोजर चलाउने र जमिन कोट्याएर छाड्ने परिपाटीले विकासभन्दा पनि विनासलाई निम्त्याउने गरेको उनको भनाइ छ । सडक विस्तार गर्दा त्यसको दीर्घकालीन असर, वातावरणीय प्रभाव मूल्यांकन, प्राविधिक तथा विज्ञसँगको परामर्श केही नगरी ग्रामीण बस्तीमा काम भइरहेको स्थानीयको आरोप छ ।
गुणस्तरीय विकासभन्दा पनि परिमाणात्मक रूपमा कति लम्बाइ सडक खनियो भन्ने प्रवृत्तिले गर्दा विनास निम्त्याएको उनीहरूको भनाइ छ ।
उता, घ्याङलेख गाउँपालिका- ३ को सोलाभन्ज्याङ, पचभैया, तीनघरे हुँदै सातदोबाटो जोड्ने सडक विस्तार गरिएसँगै पचभैयाका १० घरपरिवार पहिरोको जोखिममा रहेका छन् । बस्ती नजिकबाट बाटो खनिएका कारण बस्ती नै पहिरोको जोखिममा परेको स्थानीयले बताएका छन् ।
गाउँमै मोटरबाटो आउने खबरले खुसी भएका पचभैयाका बिलबहादुर थिङ बाटोले आफ्नो घर नै पहिरोको जोखिममा परेको गुनासो गर्छन् । ‘पहिले गाउँमै मोटरबाटो आइपुग्ने भएपछि गाउँमा विकास हुने भयो भनेर खुसी भएको थिएँ’, थिङले भने, ‘बाटो जथाभावी खन्दा अहिले घर नै पहिरोको जोखिममा छ ।’
पहिले विस्तार भएको सडकलाई छाडेर नयाँ ट्र्याक खोलिएका कारण बस्ती नै पहिरोको जोखिममा परेको थिङको भनाइ छ । ‘घर जतिबेला पनि भासिन सक्छ’, उनले भने, ‘अहिले मेरो परिवार नै तल बेँसीको गोठमा बस्छौँ ।’
पहिरोको जोखिममा रहेका बाँकी घरपरिवार जोखिम मोलेर बस्न बाध्य भएको उनले सुनाए । भारी वर्षा भएमा पहिरो खसेर ठूलो जनधनको क्षति हुने संभावना रहेको स्थानीयले बताएका छन् ।
सडक खनिएपछि जोखिममा रहेका घर अहिले वर्षाले भासिँदै गएको स्थानीयले गुनासो गरेका छन् । सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत हालसम्म केही पहल नभएको उनीहरूको भनाइ छ ।
यस्तै कमलामाई नगरपालिका- ७ पानीट्यांकीबाट बहिरा स्कुल जाने भित्री सडक खण्डमा नाला निर्माण नहुँदा सडक तलको बस्ती नै पहिरोको जोखिममा परेको छ । सडक मात्र खोलेर छाडेका कारण माथिबाट पहिरो खस्न थालेको स्थानीयले गुनासो गरेका छन् ।
