काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमले खबरदारी नगरे सरकार ठिक ठाउँमा नबस्ने बताएका छन् । मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको छलफलका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘सञ्चारमाध्यमले खबरदारी गरेन भने सरकार बेपरवाह हुन्छ,’ ओलीले भने, ‘अहिले सञ्चारमाध्यम चुप छ । किन सरकारसँग गुन लगाएर चुप लागेर बसेको छ ?’
छलफलका क्रममा ओलीले दल विभाजनका लागि अध्यादेश संविधानको मर्मविपरीत हुँदा सञ्चारमाध्यम चुप लागेर बसेको बताए ।
‘मैले पनि ४० प्रतिशतमा वा राखेर अध्यादेश ल्याएको थिएँ, त्यसबेला उत्पात गरेका थिए,’ सो क्रममा ओलीले भने, ‘सञ्चारमाध्यम चुप छन् किन हो ? अध्यादेश खारेज गर्न पनि अर्को कानुन चाहिन्छ । संसद् चालू रहँदा सूचना टाँस गर्न पाइँदैन ।’