काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचारी बन्दै गएको बताउँदै अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने बताएका छन् ।
मंगलबार सम्पादकहरुसँग भएको अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
संसद चलिरहेको बेलामा सांसदबाटै कानुन बनाइनुपर्ने बताउँदै उनले भने, ‘दूषित मनसायका साथ अध्यादेश ल्याइयो । अहिले संसद छलेर सूचनामार्फत अध्यादेश फिर्ता भनिएको छ । अध्यादेशको कुरा, कानूनको कुरा संसदको विजनेस हो । अध्यादेश रद्द गर्न अर्को कानून चाहिन्छ । यत्तिकै फिर्ता हुँदैन । रद्द गर्नुपर्यो भने अर्को अध्यादेशको व्यवस्था गर्नुपर्छ ।’
सरकारले भदौँ १ गते राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । त्यही अध्यादेशका कारण नेकपा एस र मधेशवादी राजपा दल फुट भएका छन् ।
सरकारले आफ्नो सुरक्षा गरेर हिजो अर्थात् सोमबार मन्त्रिपरिषद्को बैठकबाट सो अध्यादेश खारेजका लागि राष्ट्रपतिकहाँ पठाएको र राष्ट्रपतिबाट पनि जारी भइसकेकाले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय भएको छ।