सप्तरी । सप्तरी महुवाकी ५८ वर्षीया रेणुदेवी झा ४२ वर्षदेखि जितीया व्रत बस्दै आएकी छिन् । उनले १६ वर्षको उमेरदेखि व्रत लिन थालेकी हुन् । तर यसवर्षको जितीया व्रत निकै कठिन भएको उनको अनुभव छ ।
उनी एकल महिला हुन् । उनकी बुहारी सुत्केरी बस्न माइतीघर गएकी छिन् । छोराहरू दिनभर काममा जान्छन् । घरमा एक्लै व्रत बस्दा गार्हो हुन्छ जस्तो लागेर उनी पनि छोरीको घर आएकी छिन् । तर पनि ४२ वर्षमा यत्तिको कठिन कहिले पनि नभएको उनले बताइन । हुनत जितीया व्रत बस्दा निकै कठिन विधि अपनाइने गरिन्छ । उनले भनिन्, ‘३६ घण्टासम्म पानी पनि खान मिल्दैन । तराईमा गर्मी पनि घटेको छैन । यही कारण पनि गाह्रो भएको हो की ?’ व्रत बसेको पहिलो दिनभर र राती पनि निकै छट्पटी भएको उनले सुनाइन । उनले व्रतको तेस्रो दिन बुधबार भनिन्, ‘अहिलेसम्म ठीक छु, बेलुकासम्म हेरौं कस्तो हुन्छ ।’
राजविराज नगरपालिका–२ की ५० वर्षीया ममता झाले पनि यस वर्ष रेणुदेवीले जस्तै अनुभव गरेकी छिन् । ३२ वर्षदेखि जितीया व्रत बस्न थाले पनि यो वर्ष जस्तो गाह्रो कहिल्यै नभएको उनले बताइन । उनले भनिन्, ‘एकदमै गर्मी छ । तिर्खा लाग्छ कमजोरी भएको छ । राजविराज नगरपालिका–७ की ६२ वर्षीया बुचनी देव पनि अलि कठिन नै भएको बताउँछिन् । तर पनि जिमुतवाहन भगवानले पार लगाउने उनको भनाइ ।
पाँच दशकदेखि जितीया व्रत गर्दै आएकी राजविराज–७ की उर्मिला देव ईश्वरमाथि ध्यान दिए जस्तोसुकै कठिनाइ पनि पार लाग्ने बताउँछिन् । सोमवारदेखि शुरु भएको जितीया बुधबार तेस्रो दिन बेलुकी ५ः३० बजे समाप्त हुँदैछ । व्रत सकिएपछि मात्रै व्रतालु महिलाले पानी र खानेकुरा खान्छन् ।