सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष फुलो कुमारी साह विरुद्ध मिटर ब्याजी हिसाबमा ठगी गरेको आरोपमा उजुरी परेको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय राजविराजमा सोही गाउँपालिका ६ नम्बर वडा बस्ने सुनिता देवी मण्डलले उपाध्यक्ष साह विरुद्ध मिटर ब्याजी हिसाबमा जग्गा ठगी गरेको आरोपमा उजुरी दिएकी हुन्।
उजुरीकर्ताकी सासु लक्ष्मीनिया देवीले २०६१ वैशाख ३० गते ३० हजार र ससुरा नेमानी मण्डलले २० हजार ॠण बापत ४ कठ्ठा जग्गा जग्गा पास गरेका थिए । जम्मा ४० हजार ॠण चुक्ता गर्न मण्डलकी सासुले २ लाखमा जग्गा बचेर आरोपित साहलाई बुझाएको पीडित मण्डलले बताएकी छन्। त्यसैगरी उक्त ॠणको जम्मा ८ लाख रकम उपाध्यक्ष साहलाई चुक्ता गरिदिएको भए तापनि जग्गा फिर्ता नगरेकी बताइन् ।
मिटर ब्याजी पीडित मण्डलका सासु र ससुराको मृत्यु भईसकेको छ। परिबन्धमा राखिएको उक्त जग्गा अहिलेसम्म फिर्ता गर्न नमानेपछि उजुरी दर्ता गराएको उनले बताइन्
'सासु ससुराका नामको जग्गा विपक्षीले अरुका नाममा विक्रि गरी प्राप्त भएको रुपैयाँ साहलाई तिरी सकेको छु । सो अवस्थामा उक्त कित्ताको जग्गा मध्येको बाँकी जग्गा उपाध्यक्ष साहले मलाई फिर्ता नगरी मिटर ब्याजीमा जोडी मलाई शोषण गरी आएको छ । मेरो सासु ससुरा स्वर्गीय समेत भई सकेको छ । विपक्षीको ऋण भन्दा २० गुणा भन्दा वढी साहले पाई सके तापनि मिटर ब्याजीमा हिसाव जोडी अझै पनि ८ लाख रुपैया माग गरि मिटर व्याजी र ठगी गरी मेरो जग्गा पारित नगरी रहेको हुँदा गम्भीर अन्यायमा पर्न गएको छु । निज विपक्षीले आफ्नो साँवा र मुलधन भन्दा वढीको सम्पत्ति ठगी गरी फिर्ता नगरी मलाई शोषण गरी रहेकोमा अन्यायमा परेकाले उजुरी गर्न आएको छु' उनले बताइन् ।