सरकारले तोकेअनुसार तलब नपाएपछि बालविकासका शिक्षक आन्दोलित

सप्तरी । राजविराज नगरपालिकामा कार्यरत बालविकास शिक्षक तथा कर्मचारी तीन दिनदेखि नगरपालिका कार्यालयमा धर्नामा छन् । सरकारले तोकेअनुसारको तलब नपाएपछि उनीहरू पठनपाठन छोडेर धर्ना दिन बाध्य भएका हुन् ।

राजविराज नगरपालिकाअन्तर्गत ४२ वटै विद्यालयमा कार्यरत बालविकासका शिक्षक र कर्मचारीले धर्ना दिँदै आएका छन् । सरकारले बजेट भाषणमा बालविकाकास शिक्षकहरूका लागि तोकेको मासिक १५ हजार तलब पाउनु पर्ने उनीहरूको माग छ । सरकारले तोकेअनुसार तलब दिन आग्रह गर्दा स्थानीय सरकारले नमानेको उनीहरूको भनाइ । शिक्षक संघ राजविराजका अध्यक्ष विभा झाले भनिन् , ‘स्थानीय सरकारले तोकेअनुसार तलब नदिएसम्म आन्दोलन जारी रहन्छ।’

सरकारले केन्द्रबाट आठ हजार र स्थानीय सरकारबाट सात हजार दिने घोषणा गरेको थियो । तर, यहाँका स्थानीय तहले मासिक आठ हजार मात्रै तलब दिने गरेको आन्दोलन संघर्ष समितिले जनाएको छ ।

शिक्षकहरूको माग सम्बोधनका लागि नगरपालिकाको तर्फबाट पहल भइरहेको शिक्षा शाखा प्रमुख भोगेन्द्रप्रसाद यादवले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.