तेह्रथुम । छथर गाउँपालिका २ फयाकका ४३ वर्षका मनकुमारी बिष्ट कोरोनाभाइरस खोप लगाउन ६ सय रुपैयाँ अटोमा भाडा तिरेर छथर अस्पताल पुगिन्, तर खोप पाइनन् ।
बिष्ट जस्तै छथर २ कै दिलकुमारी लिम्बू खोप लगाउनका लागि बिहान ८ बजे पैदल हिँडेर चार घण्टामा खोप लाउन पुगिन् । तर, उनले पनि खोप पाइनन् । बिष्ट र लिम्बू जस्तै ३० वर्षमाथि उमेर समूहका नागरिकहरूले खोप पाएनन् ।
छथर गाउँपालिकाले ३० वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाउने सूचना प्रवाह गरेपछि खोप लाउन छथर अस्पतालमा नागरिकहरू पुगे कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाउने तथा भेरोसेल खोपको दोस्रो मात्रा लगाउने सूचना प्रवाह गरेको थियो । छथर गाउँपालिकाले १२ र १३ असोजमा नागरिकहरूलाई खोप लगाउन सूचना प्रवाह गरेको थियो ।
त्यस्तै, यसअघि अग्रपंक्तिमा रहेर काम गर्दै आएका शिक्षक, कर्मचारी, पर्यटकीय क्षेत्र होटलमा रहेर काम गर्ने व्यक्तिहरू, ३० वर्षमाथिका सबै नागरिकहरूलाई खोप दिने भने पनि नागरिकहरूले खोप पाउन नसकेको गुनासो गरेका छन् ।
छथर गाउँपालिका स्वास्थ्या शाखा प्रमुख सन्जित रसाइलीले भने उमेर समुहको आधारमा समय छुट्याइएको मिति नआई एकै पटक नागरिकहरू खोप लाउन आएका कारण खोप नपुगेको बताए । स्वास्थ्य शाखाका अनुसार दुई दिनमा आठ सय नागरिकहरूलाई खोप प्रदान गरिएको छ ।