काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू र प्रदेश सरकारलाई बद्नाम गर्न छापा मारेको आरोप लगाएका छन् ।
बुधबार बेटी बचाऊ, बेटी पढाऊ अभियानअन्तर्गत प्रदेश सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको भन्दै अख्तियारले छापा मारेको केही घन्टापछि प्रदेश प्रमुखले यस्तो आरोप लगाएका हुन् ।
बुधबार अख्तियारको टोलीले जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा पुगेर छापा मारेको थियो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकार प्रमुखको कार्यालयमा ‘छापामार’ शैलीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फायल नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएका छन् । उनले अख्तियारको तरिका ठीक नभएको भन्दै आयोगका प्रमुख प्रेम राईलाई समेत फोन गरेका छन् ।
‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एउटा स्टेटको प्रमुखको कार्यालय हो । फायल माग्ने एउटा तरिका हुन्छ, ’ अख्तियारले साइकल खरिदको फाइल छानबिनका लागि नियन्त्रणमा लिएपछि आक्रोसित बनेका मुख्यमन्त्री राउतले बुधबार अपरान्ह जनकपुरस्थित सरकारी निवासमा पत्रकार सम्मेलन गर्दै अख्तियारको कार्यशैलीप्रति आपत्ति जनाए ।
‘सुशासनको सवालमा म आफैं ओपन व्यक्ति हुँ, ’ मुख्यमन्त्री राउतले भने, ‘साइकल खरिदमा कहिंकतै अनियमितता भएको भए कारबाही गर्न म सहयोग गर्न तयार छु । तर, एउटा संस्थालाई नै बद्नाम गराउने किसिमले अख्तियारले गरेको छापामारी सहय हुनसक्दैन ।’